- संगालोखबर सम्बाददाता

धनकुटा । निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको आरोपमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ का वडाध्यक्ष नेत्र अधिकारीको सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ सम्बद्ध युवाहरूले आज राती करिब ८ बजे महालक्ष्मी–७ जितपुरस्थित धन्धार्ने टोल नजिकबाट मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

Advertisement

आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने काममा प्रयोग गरेको आशङ्कामा वडाको को १ ख १५५२ नम्बरको सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कुँवरले बताए । आचारसंहिता विपरित मौन अवधिमा मतदाता प्रभावित पार्ने काम हुनसक्ने आशंकामा एमालेले युवाहरूलाई गाउँगाउँमा परिचालन गरेको छ । जितपुरका स्थानीय कुसुम तुम्बाको नेतृत्वमा खटिएका युवाहरुको समूहले धन्धार्नेस्थित जितपुर–लेगुवा सडक खण्डबाट सो मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

‘कांग्रेस र माओवादीका मान्छेहरु गाउँमा पैसा बाढ्न गएको खबर आएपछि हामी पुगेका थियौं, हामी गएपछि उनीहरु मोटरसाइकल छोडेर भागे,’ तुम्बाले संगालोखबरसँग भने, ‘वडाध्यक्ष नेत्र अधिकारीको सरकारी मोटरसाइकल पनि पैसा बाढ्ने काममा प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौं ।’ यता, प्रहरीले भने पैसा बाढिएको यकिन नभएको बताएको छ ।

महालक्ष्मीको ढिडी घर भएका अधिकारी कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । यता, वडाध्यक्ष अधिकारीले पैसा बाढ्ने काममा सरकारी मोटरसाइकल प्रयोग भएको आरोप निराधार रहेको दावी गरेका छन् । मोटरसाइकल बिग्रिएर बाटोमा छोडेर हिँडेको अवस्थामा युवाहरूले निराधार आरोप लगाएर आफ्नो मानहानी गर्ने काम गरेको वडाध्यक्ष अधिकारीको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!