- संगालोखबर सम्बाददाता

धनकुटा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू अहिले चुनावी अभियानमा व्यस्त छन् । नेकपा एमालेका तर्फबाट धनकुटा क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्यका उम्मेद्वार निरन राई पनि घरदैलो, सभा र मतदाता भेटघाटमा व्यस्त छन् ।

Advertisement

निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका राई अहिले चौबिसे गाउँपालिकाका विभिन्न वडामा घुमिरहेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहितको टोलीसँग साँगुरीगढी, चौविसे र सहिदभूमि गाउँपालिकामा एक चरण मतदाता भेटघाट गरिसकेका निरन अहिले पुनः दोस्रो चरणमा घुमिरहेका छन् । गाउँ-गाउँमा उनले जनताबाट भव्य स्वागत पनि पाइरहेका छन् । धेरै ठाउँमा उनलाई स्वागतका लागि फुलमाला लिएर जनताहरू निस्किने गरेका छन् ।

घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएकाले आफू उत्साहित रहेको उम्मेद्वार राई बताउँछन् । उनी भन्छन्, ‘गाउँ–गाउँमा हाम्रो पक्षमा निकै राम्रो माहोल छ, जनताहरूले सकारात्मक प्रतिक्रिया दिइरहनु भएको छ ।’

आफूले पाँच वर्षमा गरेको कामबाट गाउँ–गाउँका जनताहरू सन्तुष्ट रहेको उनी बताउँछन् । आफूले सुरुवात गरेका विकासका कतिपय अधुरा, अपुरा कामहरू पुरा गर्दै विकासलाई गति दिन जनताले पुनः आफूलाई जिताउने उनको अपेक्षा छ । एमाले उम्मेद्वार राईसँग गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अर्जुन राई र जसपाका रकम चेम्जोङ्ग चुनावी प्रतिष्पर्धामा छन् ।

उम्मेदवारलाई मागपत्र

भेटघाटका क्रममा मतदाताहरूले एमाले उम्मेद्वार राईसमक्ष बिभिन्न मागहरू पनि राख्ने गरेका छन् । कतिपयले मौखिक र कतिपयले लिखित रुपमै मागपत्र पेश गर्ने गरेका छन् । गाउँघरका असुविधा र समस्या समाधान गरिदिन मतदाताहरूले माग गर्ने गरेका हुन् । यसैबीच, चौबिसे गाउँपालिका–८ ठाडागाउँ पुगेका उम्मेदवार राईलाई स्थानीयले ७ बुदेँ माग पत्र बुझाएका छन् ।

पानीको मुहान सुकेपछि ठाडागाउँमा पिउने पानीको चरम अभाव छ । सोही कारण उनीहरूले खानेपानीको व्यवस्था गरिदिन माग राखेका हुन् । खानेपानीसहित खेलमैदान निर्माण, पर्यटन विकास, सडकको स्तरोन्नति लगायत माग पनि राखिएको स्थानीय संकलाल मगरले जानकारी दिए । यता, चौबिसे गाउँपालिका–५ बोधेका स्थानीयले पनि खानेपानीको चरम अभाव भएकाले उम्मेदवार राईलाई खानेपानीको दिगो व्यवस्थापन गरिदिन माग राखे ।

सधै जसो पानीको हाहाकार हुदै आएको बोधेमा ट्याक्टरले छरुवाखोलाबाट हिलट्याङ्कमा ल्याएको पानी किनेर खानुपर्ने बाध्यता छ । सोही कारण पानीको व्यवस्था मिलाउँन माग गरिएको स्थनीय ताराबीर याखाले बताए । उनले भने–‘पानीको ठूलो समस्या भएकाले जुनसुकै पार्टीका उम्मेदवार आएपनि खानेपानीको दिगो व्यवस्थापन गरिदिन माग गर्ने गरेका छौं ।’

सो क्रममा उम्मेदवार राईले चौबिसेका विभिन्न वडामा देखिएको खानेपानी समस्याको दिगो समाधानका लागि आफुले यसअघि पनि पहल गरेको भन्दै अब जितेपछि यो बिषयलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!