- दिलमाया शाही

जुम्ला । पृथ्वीको एउटा ध्रुवमा अन्तरिक्षमा कसरी मानव वस्ती बसाउने भनेर बहस छलफल चलिरहेको छ । तर, यही पृथ्वीको एक ध्रुव नेपालका केही भागमा भने अझै पनि जात, कथित बोक्सा-बोक्सीको आरोप, लैंगिक हिंसाबाट ज्यान गुमाइरहेका छन् ।

Advertisement

यस्ता घटनाबाट विशेषगरी महिला बढी पीडित हुने गरेका छन् । । महिलामध्येबाट पनि कर्णालीका महिला यस्तो पीडाबाट धेरै गुज्रिरहेका छन् । यहाँका अधिकांस महिला घरेलु हिंसाका शिकार बन्छन् । उनीहरू समाजको लोकलाजले हिंसा बाहिर ल्याउँदैनन् । केहीले सहनै नसकेर आत्महत्या गर्छन् भने कतिपय परिवारबाटै मारिएका पनि छन् । यसको एक उदारण हुन् जुम्ला चन्दननाथ नगरपालिकाकी संजिता तामाङ ।

३२ वर्षीया संजिताको माइतीघर ओखलढुंगाको सुनकोसी गाउँपालिका-२ हो । जुम्ला चन्दननाथ नगरपालिका दशगैरागाउँका क्षेत्रबहादुर खत्रीसँग उनले विवाह गरेकी थिइन् । संजिता खत्रीको तेस्रो श्रीमती बनेकी थिइन् । उनीहरूका करिब चार वर्षकी छोरी र साढे दुई वर्षका छोरा छन् ।

संजिताले चन्दननाथ नगरपालिका–५ जुगाडखोला नजिकै काठको टहरामा श्रीमानसँगै खाजा पसल सञ्चालन गर्दै आइरहेकी थिइन् । उनलाई श्रीमानले रक्सी खाएर दिनहुँजसो कुटपीट गर्ने गरेको हल्ला बजारभरि फैलिएको थियो । ११ असोज राति त खत्रीको कुटाईबाट संजिता गम्भीर घाइते भएपछि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लगियो । श्रीमानले नै संजितालाई उपचार गर्न ल्याएका थिए । बियरको बोतलले हिर्काउँदा उनी बेहोस भएर ढलेकी रहिछन् । प्रतिष्ठानको एकद्धार संकट प्रणाली (ओसिएमसी)मार्फत आइसियुमा राखेर उनको उपचार गरेको डा. रवीन खातुनले बताए । उनको स्वास्थ्यमा सुधार नआएपछि १५ दिनपछि नेपालगञ्जस्थित भेरी अस्पतालको ओसिएमसीमा रिफर गरेको ओसिएमसी सदस्य भिमुक गुरुङले बताइन् । १५ दिनसम्म बेहोस नै रहेको उनको भनाइ छ ।

उनका श्रीमान खत्रीले भने लडेर गम्भीर चोट लागेको बताएका थिए । तर, स्थानीयले उनीहरू बस्ने काठको एक तले टहरामा चोट लाग्ने गरी लड्ने अवस्था नरहेको बताउँछन् । उपचारकै क्रममा उनको भेरी अस्पतालमा एक महिनापछि मृत्यु भयो । मृतक संजिताका माइती पक्ष टाढा भएकाले खत्रीविरुद्ध तत्काल उजुरी नपरेको स्थानीयको भनाइ छ ।

पहिलो श्रीमतीको मृत्यु, दोस्रो श्रीमतीमाथि आगजनी
स्थानीयका अनुसार खत्रीकी जेठी श्रीमती कल्पना मल्लबाट दुई छोरी छन् । उनको माइती घर नेपालगन्ज हो । कल्पनामा मुटुको समस्या भएपछि खत्रीले सौता थपे । यही पीडाले कल्पनाको मृत्यु भएको स्थानीय बताउँछन् ।

खत्रीले दोस्रो श्रीमतीका रुपमा चन्दननाथ नगरपालिका–४ सिंगाचौरबाट हिरू सार्कीलाई ल्याए । अहिले उनले पनि खत्रीको साथ छाडिसकेकी छिन् । दोस्रो श्रीमतीलाई भारत लगेर मट्टितेल छर्केर जलाउन खोजेको र भागेर बाँच्न सफल भएको स्थानीयले बताए । उनको शरीर र मुखमा जलेको गहिरो चोट अझै छ ।

दोस्रो श्रीमतीकी आमा माया सार्कीका अनुसार खत्रीले ०७० सालमा सहकारीमा जागीर खाँदै गरेकी हिरूलाई भगाएका थिए । जेठी श्रीमतीले प्रहरीमा बहुविवाहको उजुरी दिए पनि आफूसँगै राखेको उनले बताइन् । ‘तर, पछि खत्रीले हिरूमाथि कुटपीट समेत गर्न थालेपछि नेपालगन्ज पठाए ।’ उनले भनिन्, ‘नेपालगन्जबाट उनीहरू भारत गएछन् ।’ भारतमा खत्रीले हिरूमाथि मट्टितेल छर्केर आगो लगाएछ ।’

यो घटना ६ भदौ ०७० सालको हो । हिरू बिरामी भएको थाहा पाएपछि साढे तीन लाख रुपैयाँ लिएर भारत गएको मायाले भनाइ छ । जलेर घाइते भएकी छोरीलाई भारतको गोर्कणेश्वर हस्पिटलमा उपचार गरेको र सात दिनपछि होसमा आएको उनको भनाइ छ । करिब तीन महिनाको उपचारपछि २१ कात्तिकमा हवाइजाहजमार्फत जुम्ला ल्याएको उनले बताइन् ।

छोरीको हत्या प्रयास हुँदा पनि केही गर्न सकेनौ : माया
छोरीको हत्या प्रयास भएको थाहा पाएर पनि केही गर्न नसकेको हिरूकी आमाको दुखेसो छ । उनले भनिन्, ‘उल्टै आफ्नै पैसा खर्चेर जुम्ला ल्याए । ठुला जातिले सधैँ हेप्छन् । प्रतिष्ठानमा १८ महिना उपचार गराएपछि हिड्न सक्ने भएकी छिन् । अहिले पनि उनको शरीर जलेका दाग छन् ।’

डाक्टरहरूले घाँटीको अप्रेशन फेरि गर्नु पर्छ भनेको उनको भनाइ छ । अहिले नगरपालिकाले उनलाई सहयोगीको रुपमा राखेको छ । छोरीलाई जलाउने क्षेत्रबहादुरले भने अहिले वास्तै नगरेको उनले बताइन् ।

आरोपी खत्री पक्राउ
कुटपिटबाट संजिताको मृत्यु भएपछि खत्रीलाई जुम्ला प्रहरीले प्रकाउ गरेको छ । श्रीमानको कुटाईबाट बेहोस भएकी उनको ११ कात्तिकमा मृत्यु भएको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए ।

जोशीले भने, ‘१४ कात्तिकमा प्रहरीले प्रकाउ गरी हिरासतमा राखेको छ । मृतक संजिताका माइती पक्षका दाजु दिलकुमार तामाङले उजुरी दिएकाले पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको छ ।’

प्रहरीका अनुसार संजिताको टाउको र शरीरमा गहिरो चोट लागेको थियो । उनको मेडिकल रिर्पोट, पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । संजिताको शव नेपालगन्ज मै उनकी सासु पार्वती खत्रीले बुझेर दाहसंस्कार गरेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!