- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित प्रदेश १ का तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा सेवा अवरूद्ध भएको हो ।

फाइबर सेवा अवरूद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरूद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएपछि सबैभन्दा बढी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार समस्यामा परेका छन् ।

दिक्तेलबाट करिब २१ किलोमिटर टाढा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूरसञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए । ‘फाइबर सेवामा खराबी आएपछि दिक्तेल बजारमा बाइपास सेवा खुला गरिएको छ,’ उनले भने, ‘दिक्तेलबाट खटाइएको प्राविधिक टोली खराबी आएको ठाउँमा पुगिसकेकाले आज साँझसम्ममा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।’

पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको सेवा दिन टेलिकमले गत वर्षको चैतदेखि फाइबर सेवा सञ्चालनमा ल्याएको थियो । टेलिकमले सञ्चालनमा ल्याएको कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुत गतिमा चल्ने भएपछि सेवाग्राहीसमेत लाभान्वित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!