संगालोखबर सम्बाददाता

धनकुटा । तिहार सकिए लगत्तै धनकुटामा उम्मेदवारहरू पुनः चुनावी घरदैलो अभियानमा जुटेका छन् । उम्मेद्वारी मनोनयन दर्तादेखि नै चुनावी घरदैलोमा जुटेका उम्मेदवारहरू तिहार सकिएपछि पुनः मतदाताको घरघरमा पुग्न थालेका हुन् ।

Advertisement

भाइटीकाको भोलिपल्टदेखि नै उम्मेदवारहरू गाउँ पसेका छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईले भाइटीकाको भोलिपल्टबाटै छथर जोरपाटी गाउँपालिकामा घरदैलो अभियान थाले । राईसँगै एमालेको तर्फबाट धनकुटा क्षेत्र नं.२ का प्रदेश सभा सदस्यका उम्मेद्वार इन्द्रमणी पराजुली पनि गाउँ पसेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राईले असोज २८ गते साँगुरीगढी गाउँपालिका–९ र १० नं. वडाबाट औपचारिक घरदैलो अभियान थालेका थिए । उनले तिहार अघिनै साँगुरीगढी, चौविसे र सहिदभूमि गाउँपालिकामा घरदैलो अभियान सकेका छन् । राई क्षेत्र नं. १ मा चुनावी घरदैलो अभियानमा हुँदा प्रदेश सभा सदस्यका उम्मेद्वार निरन राई पनि सँगै थिए । निरन एमालेका तर्फबाट धनकुटा क्षेत्र नं.१ का प्रदेश सभा सदस्यका उम्मेद्वार हुन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र र प्रदेश सभा सदस्यका उम्मेद्वार निरनले तीन वटै पालिकामा सामूहिक रुपमा घरदैलो अभियान सञ्चालन गरेका थिए । १ नम्बर क्षेत्रको धनकुटा नगरपालिका क्षेत्र बाँकी राख्दै राजेन्द्र २ नम्बर क्षेत्रमा प्रवेश गरेपछि प्रदेश सभा सदस्यका उम्मेद्वार पराजुलीसँगै छथर जोरपाटीबाट सामूहिक रुपमा घरदैलो अभियान थालिएको हो । छथर जोरपाटीपछि मङ्गलबारबाट महालक्ष्मी नगरपालिका क्षेत्रमा घरदैलो अभियान सुरु गर्ने प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईले बताए । ‘हामीले जनतासँगको भेटघाट तथा घरदैलो अभियानलाई तिव्रता दिएका छौं । सकेसम्म सबैको घरमा पुग्ने गरी खटिरहेका छौं,’ राईले संगालोखबरसँग भने, ‘जनताहरू सूर्यमा भोट हाल्न आतुर हुनुहुन्छ, उहाँहरूले देखाएको मायाका कारण हामी पनि उत्साहित बनेका छौं, हाम्रो जित निश्चित छ ।’

यता, एमाले उम्मेद्वार निरन राईले तिहारपछि धनकुटा नगरपालिका क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन् । एमालेले प्रतिनिधि सभा सदस्यका उम्मेद्वार जुन क्षेत्रमा पुग्यो सोही क्षेत्रमा प्रदेश सभा सदस्यका उम्मेद्वार पनि सँगै घरदैलो अभियानमा निस्कने गरी भ्रमण तालिका तय गरेको छ । धनकुटामा प्रतिनिधि सभाका लागि एउटा र प्रदेश सभाका लागि दुई वटा क्षेत्र तोकिएको छ । जस अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राई जिल्लाभरको घरदैलो अभियानमा निस्किएका हुन् ।

प्रदेश सभा सदस्यका उम्मेद्वार पराजुली र राई भने आ–आफ्नो क्षेत्र दौडाहामा छन् । एमालेका समानुपातिक उम्मेद्वार शिव आङ्ला र तारा तितुङ पनि प्रत्यक्षतर्फका उम्मेद्वारहरुसँगै घरदैलो अभियानमा हिँडिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!