संगालोखबर सम्वाददाता

मकवानपुर । अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

Advertisement

हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ का २० वर्षीय सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै बुबा नाथ गौतमको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यातायात कार्यालयले प्रहरीलाई खबर गराएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै लोकसेवा आयोगले लिएको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१ मा सञ्चालन भइरहेको लोकसेवा आयोगको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बास्ताकोटीलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीका अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारेपछि लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको झोलाबाट नगद ५८ हजार ५०० रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!