संगालोखबर
जिल्ला प्रहरी कार्यालय मोरङ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा मोटरसाइकलको इन्डिकेटरभित्र लागूऔषध खैरो हिरोइन राखिदिएर निर्दोषलाई फसाउने षड्यन्त्र भएको खुलेको छ । उक्त घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

गत मंसिर २७ गते प्रतिबन्धित लागूऔषध खैरो हिरोइन लुकाई ल्याइँदैछ भन्ने गोप्य सूचना मोरङ प्रहरीलाई आयो । सोही आधारमा धनपालथान गाउँपालिका-४ मा चेकजाँच गर्दा प्रदेश १-०४-००२ प ६४७१ नम्बरको मोटरसाइकलको दायाँपट्टिको इन्डिकेटरभित्र लुकाई राखिएको १३.३१ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पर्यो ।

Advertisement

मोटरसाइकलका धनी धनपालथान गाउँपालिका-२ का २९ वर्षीय राजिव चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइए पनि शरिर खानतलासी गर्दा अन्य केही फेला परेन । चौधरीले आफ्नो मोटरसाइकलमा कुनै पनि लागूऔषध नराखेको बयान दिएका थिए ।

प्रहरीका अनुसार सोही प्रकृतिको घटना २०८२ वैशाख २० गते पनि भएको थियो । उक्त दिन धनपालथान गाउँपालिका-२ का ४५ वर्षीय चन्द्रशेखर मण्डलको को ६ प १६२६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा इन्डिकेटरभित्र २.९५० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो । तर प्रयोगशालामा परीक्षण गर्दा सो पदार्थ नेगेटिभ देखिएपछि मण्डलले सफाइ पाएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा मण्डल र चौधरी नाताले ससुरा–ज्वाइँ हुन् । घटनाको अनुसन्धान गर्दै जाँदा व्यक्तिगत रिसइबीका कारण धनपालथान गाउँपालिका-७ का २७ वर्षीय विशाल कुमार सिंहले अन्य व्यक्तिसँग मिलेर उनीहरूलाई फसाउन खोजिएको खुलेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

पक्राउ पर्नेमा सिंहसहित विराटनगर-९ का २७ वर्षीय राजा धोबी, धनपालथान गाउँपालिका-७ का २७ वर्षीय रोशन मण्डल र धनपालथान-१ का २८ वर्षीय पारस मण्डल छन् । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!