संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा आज दिउँसो एक जना इन्जिनियरलाई तमोर नदीले बगाएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भएका इन्जिनियर २३ वर्षीय सिद्धार्थ कुमार खत्रीलाई साँगुरीगढी गाउँपालिका–९ स्थित दिलुङटारबाट तमोर नदीले बगाएको हो ।

Advertisement

सहिदभूमि गाउँपालिका–१ सफाइ र साँगुरीगढीको दिलुङटारस्थित तमोर नदीमाथि मोटरेबल पुल निर्माणको तयारी छ । सोही पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा दिउँसो करिब ३ बजे खत्रीलाई तमोर नदीले बगाएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार नदीको वारी सफाइ र पारी दिलुङटारमा इन्जिनियरहरू बसेर पुल निर्माण स्थलको नापजाँच गर्दै थिए ।

नदी किनारको ढुङ्गामाथि चढेर नाप्ने क्रममा चिप्लिएर लड्दा खत्रीलाई नदीले बगाएको हो । ‘नदीले बगाएर मान्छे बेपत्ता भएपछि प्रहरीलाई खबर गरियो, अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास गरिरहेको छ,’ गाउँपालिका अध्यक्ष राईले संगालोखबरसँग भने, ‘नदीमा बाढी आएको छ, अहिलेसम्म मान्छे फेला पार्न सकिएको छैन ।’

खत्री थापाथली क्याम्पसमा अध्ययन गर्दै आएका थिए । थापाथली क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिराम लिम्बुका अनुसार क्याम्पसबाट दुई दिन अघि छ जनाको टोली सिभिल इन्जिनियरिङको प्रयोगात्मक अभ्यासका लागि धनकुटा आएको थियो, उनीहरूकै टोलीले पुल निर्माण स्थलको नापजाँच गर्ने क्रममा घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!