संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशका तीन स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गरिने भएको छ । प्रदेश सरकारले झापाको अर्जुनधारा नगरपालिका, मोरङको रंगेली नगरपालिका र तेह्रथुमको आठराई गाउँपालिकामा सेवा केन्द्र निर्माण गर्ने तयारी गरेको हो ।

Advertisement

वारुणयन्त्र, एम्बुलेन्स, प्रहरी लगायत अत्यावश्यक सेवाहरू एकीकृत रुपमा प्रदान गर्न प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने प्रकृया अघि बढाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिए । झापाको अर्जुनधारामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डीपीआर आइतबार पारित भएको छ ।

अर्जुनधारा नगरपालिकाको वडा नं २ मा निर्माण गरिने उक्त केन्द्रले अर्जुनधारा, कनकाई र बिर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाबासीलाई सेवा उपलब्ध गराउनेछ । सेवा केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र स्थानीय तहहरुबीच यसअघि नै सम्झौता भइसकेको छ ।

मोरङको रंगेली नगरपालिकाको दर्बेसा र तेह्रथुमको आठराई गाउँपालिका वडा नं १ पुरानो बजारमा सेवा केन्द्र निर्माण गर्ने गरी आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको छ । सेवा केन्द्र निर्माणका लागि  आवश्यक निर्देशिका पनि मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली सुनवर्षी, कानेपोखरी र धनपालथान गाँउपालिकाबासीलाई सेवा उपलब्ध गराउने लक्ष्य छ ।

यता, आठराई र फेदाव गाउँपालिकाबासीलाई सेवा उपलब्ध गराउन सहजताका लागि आठराइमा केन्द्र निर्माण गर्न लागिएको हो ।  विशेष गरेर स्थानीय तहहरूमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउन प्रदेश सरकारले सेवा केन्द्र सञ्चालन गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!