काठमाडौं– अन्य धाराका माओवादीले कोठाभित्र २२औं जनयुद्ध दिवस मनाउँदा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको माओवादीले खुलामंचमा शक्ति प्रर्दशनसहित यो दिवस मनायो । काठमाडौंमा ठाँउ–ठाँउमा गेट बनाएर विप्लवले माओवादीले आफ्नो आठौं महाधिवेशनको उद्घाटन गरेको थियो, जहाँ विप्लवले शुभकामना दिन भनेर प्रचण्ड र बाबुराम भट्टराईलाई निम्ता पनि गरेका थिएनन् । अर्थात मुद्दाका हिसावले जनयुद्धकालीन माओवादी धाराको नेतृत्व आफुले गरेको सन्देश दिन चाहेका थिए, विप्लवले ।
तर, तीनै विप्लवले अवको चार दिनपछि औपचारिक रुपमा ‘माओवादी’ छाडे भने अचम्म नमाने हुन्छ । ‘माओवादी’ विरासत नछाडेपनि विप्लवले ‘माओवादी’ छाड्दै छन् । काठमाडौंमा उद्घाटन गरिएको विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र फागुन ५ गतेबाट रोल्पाको थवाङमा शुरु भएको छ । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
यही प्रतिबेदनमा उनले ‘माओवादी छाडने’ प्रस्ताव राखेका छन् । माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी आन्दोलनको ‘विरासत’ बचाउन नसकेको विप्लवको ब्याख्या छ । तर, उनी आफै चाहीँ ‘माओवादी’ सँग दूर हुँदैछन् । विप्लवको बुझाईमा प्रचण्ड–बाबुराम लगायतका नेताले ‘माओवादी’ को विरासत धान्न त सकेनन् नै बरु यसलाई प्रदुशित बनाए । ‘माओवादी’ छाडने विप्लवको प्रस्ताव मुद्दाबाट पनि भाग्ने कोशिष हो वा आन्दोलनलाई नयाँ शिराबाट उठाउने ‘प्रयास’ भविष्यमा मात्र देखिने विषय हो ।
देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले थवाङकोबन्दसत्रमा सहभागिता जनाएका छन् । भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको यो बन्दसत्रले ‘माओवादी’ छाड्ने प्रस्तावलाई वैधानिकता दिनेछ । त्यसो भयो भने विप्लव नेकपा माओवादीका महासचिव हुने छैनन् । उनी के हुन्छन्, त्यो विषय राख्नु अगाडि अरु पाटा माथि केही जानौँ । एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेर ‘नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद स्थापना’को लक्ष्य राखेको विप्लव नेतृत्वको माओवादीले महाधिवेशनबाट नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राख्न प्रस्ताव गरेको हो । अर्थात, महासचिव विप्लवले आफ्नो पार्टीको अहिलेको नेकपा माओवादी नाममा रहेको ‘माओवादी’ शब्द हटाउन प्रस्ताव गरेका छन् । राजनीतिक प्रतिवेदनमा ‘पार्टी नामको विषय’ शीर्षकमा यो प्रस्ताव गरिएको छ ।
शुक्रवार अर्थात फागुन ६ बाट राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल हुनेछ । महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको छ । ‘माओवादी’ छाडने र एकीकृत क्रान्तिको कार्यदिशामाथि ठोस योजना तयार पार्ने भएकाले नेपाली राजनीतिमा विप्लव माओवादीको थवाङ बन्दसत्रलाई महत्वका साथ हेरिएको छ । थवाङमा आफ्नै पार्टीको पहलमा बनेको भव्य सभाहलमा नेता–कार्यकर्ताले विप्लवको राजनीतिक प्रस्तावमाथि छलफल गरिरहेका छन् ।
विप्लवले ‘माओवादी’ छाडन थालेको समाचार एक महिना अगाडि सवैभन्दा मैले नै लेखेको थिए । नेकपा माओवादी पुरा नाम भएपनि विप्लवको पार्टीलाई विप्लव माओवादी भनेर चिन्छन्, सम्बोधन गर्छन् र मिडियामा पनि यहीँ नाम चल्छ । तर, यो परिचित नामबाट विप्लवले आफुलाई अलग गर्दैछन् । जनयुद्धको मुख्य भूभाग मानिने ठाँउ थवाङबाट ‘माओवादी’ छाडने निर्णय गराएर विप्लवले के सन्देश दिने हुन ? त्यसको असर के देखिने हो ? अहिले यकिन गर्न कठिन छ । तर, थवाङको बन्दसत्रबाट कार्यकर्ताले खोजेजस्तो कार्यदिशा र कार्यक्रम दिएनन् भने उनको राजनीतिक यात्रा ओरालोमा लाग्ने खतरा उत्तिकै छ, किनभने प्रचण्ड र वैद्यलाई उनले विभिन्न आरोप लगाएर आफै पार्टी बनाएका हुन् । ‘विद्रोही’ चेतनाको थवाङले ‘यथास्थितिवादी’ सोच स्वीकार गर्दैन भन्नेमा विप्लव परिचित नै हुनुपर्छ ।
कसरी ?
यसको विषयमा तपाईंलाई नेकपा माओवादीको राजनीतिक प्रतिवेदनबाट केही कुरा भन्नुपर्ने हुन्छ । पार्टी गठनको दुई वर्षपछि विप्लवले पार्टीको नाम फेर्ने प्रस्ताव त्यहीँ प्रतिवेदनमा गरेका छन्, जुन अहिले थवाङमा चर्चा भैरहेको छ । पार्टीको आठौँ महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा महासचिव विप्लवले पार्टी नाम परिवर्तन गर्ने प्रस्ताव गरेपछि पार्टीभित्र पनि तरंग पैदा भएको थियो । एक महिना भन्दा बढी पार्टीका आन्तरिक कमिटिमा यो विषय छलफल भएपछि अहिले थवाङको बन्दसत्रमा निर्णायक छलफल भैरहेको छ । पार्टी महासचिव आफैले प्रस्ताव गरेका कारण यो प्रस्ताव अनुमोदन हुने देखिन्छ ।
एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेर ‘नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद स्थापना’को लक्ष्य राखेको विप्लव नेतृत्वको माओवादीले महाधिवेशनबाट नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राख्न प्रस्ताव गरेको हो । अर्थात, महासचिव विप्लवले आफ्नो पार्टीको अहिलेको नेकपा माओवादी नाममा रहेको ‘माओवादी’ शब्द हटाउन प्रस्ताव गरेका छन् । राजनीतिक प्रतिवेदनमा ‘पार्टी नामको विषय’ शीर्षकमा यो प्रस्ताव गरिएको छ ।
विप्लवले आफ्नो प्रस्तावमा ‘माओवादी’ छाडने विषयमा कारणसहित यसरी ब्याख्या गरेका छन् ।
कारण १
जनयुद्धको तयारी गर्न थालेपछि तत्कालीन एकता केन्द्रमा क्रान्तिकारी र अवसरवादीधारबीच सङ्घर्ष चर्कियो । पार्टी विभाजन नै भयो । २०५१ सालमा एकता केन्द्रमा विभाजन भएपछि बहुमत केन्द्रीय सदस्यले पार्टीको नाम नेकपा माओवादी बनाएका थिए । यद्यपि त्यतिबेला निर्मल लामा समूहले भने एकता केन्द्रकै नामममा पार्टी चलाएको थियो । त्यसबेला नेकपा माओवादी नाम प्रयोग गर्दा सार र रुप मिल्न गएको थियो ।
कारण २
जनयुद्ध र संविधानसभाको पहिलो चुनावमा आउँदासम्म माओवादी पार्टीको पहिचान, बलिदान देश र जनताको रक्षक तथा सत्य र न्यायको प्रतीक जस्तो थियो । जब शान्ति प्रक्रियामा प्रचण्ड र बाबुरामले आत्मसर्मपण र विर्सजनको बाटो समाते र ती नेताको आर्थिक जीवन रहस्यमय बन्दै गयो । पैसाका लागि तस्कर, दलाल, कमिसनखोरसँग साँठगाँठ बढ्दै गयो, तब माओवादी जनताको आँखामा नराम्रो हुँदै गयो ।
कारण ३
माओवादीका दुस्मनहरुले योजनाबद्ध रुपले सञ्चारमाध्यम र प्रचारप्रसारबाट माओवादीलाई बदनाम गर्दै जाने नीति अपनाए । कहिलेकाहीँ साना घटनामा पूर्वलडाकु जोडिए पनि त्यसलाई अनावश्यक रुपमा बढाइबढाई प्रचार गर्ने गरियो ।
कारण ४
भित्री विचलन र बाह्य हमलाबाट पछिल्लो समयमा माओवादीलाई विचलन र विकृतिको प्रतीक बनाउन खोजिएको छ ।
कारण ५
विप्लवको नेतृत्वमा नेकपा माओवादी पुनर्गठन गरेपछि माओवादीको प्रभाव सुल्टोतिर त फर्किंदै गएको छ । तर अझै ठीक भइसकेको छैन । माओवादीमा कुनै विशेषण जोड्दा मात्र (आफ्नो पार्टीको नाम जस्तै विल्लव माओवादी) जनतामा सकरात्मक सोचाइ बन्न गएको छ ।
कारण ६
कम्युनिस्ट पार्टी विश्व सर्वहारावर्गको अग्रदस्ता हुनुको कारण कुनै सन्दर्भमा उपनाम जोड्नुपरे पनि कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी नै हो । सम्भव रहँदासम्म कम्युनिस्ट पार्टीकै रुपमा सङ्गठित र परिचालित हुँदा राम्रो हुन्छ ।
कारण ७
नेपाली सन्दर्भबाट हेर्दा सबै कम्युनिस्ट पार्टीका पछाडि केही न केही उपनाम जोडिएको छ ।
कारण ८
कम्युनिस्ट पार्टीको नामबाट सङ्गठित र सञ्चालितक पार्टी छैन् ।
कारण ९
सबै पाटाबाट हेर्दा पार्टीको नाम कम्युनिस्ट पार्टी राख्दा वस्तुवादी देखिन्छ,
कारण १०
सहज, सरल र सजीव नामका लागि नेपाल कम्युनिस्ट पार्टी राख्नु उपयुक्त हुन्छ ।
अरुको टिप्पणी के ?
माओवादी केन्द्रका नेता गोपाल किराँती विप्लवका यो कदमलाई ‘माओवादी आन्दोलनबाट भाग्ने कोसिस’ रुपमा लिन्छन् । ‘यो कोर्स सबैभन्दा पहिला बाबुरामले गर्र्न चाहेका थिए । एमालेमा पनि कम्युनिस्ट नाम राख्नु हुँदैन भन्ने केपी ओलीहरुको मत छ ।यो पृष्ठभूमिमा नाम परिवर्तनको प्रस्ताव गरेर विप्लवजीले माओवादी आन्दोलनबाट भाग्ने रचना गर्नुभयो । बहानबाजी जे भए पनि आन्दोलनबाट भाग्ने र सहिदहरु प्रति गद्दारी हुन्छ ।’ उनले भनेका छन् ।
विश्लेषक राजेन्द्र महर्जन ‘नेपालको विशिष्ठतालाई ध्यान दिएर सोच्ने कुरामा अन्यथा लिनु हुँदैन’ भन्छन् । उनको मत छ, ‘ नाम परिवर्तनको कुरा गरेर विप्लवले नयाँ ढङ्गले सोच्न खोजेका हुन कि भन्ने सन्देश दिएका छन् । यो सिद्धान्त नै छाड्ने हदसम्म पनि पुग्न सक्छ, त्यो भविष्यको कुरा हो । तर, जमिनमा हेर्ने वा नहेर्ने मुख्य कुरा हो । यहाँको धरातलमा रहेका अन्तरविरोध हल गर्ने प्राथामिकतामा नाम परिवर्तन गर्न खोजिएको हो होइन, त्यो मुख्य कुरा हुन्छ । चीन र रुसको अभ्यास मात्र हेरेर मात्र हुँदैन । नेपालको सन्दर्भमा सोच्ने मामिलामा पनि आफ्नोपन हुनुपर्यो । नामसँगै बाटो पनि देखिनुपर्यो । बाटो देखिएन भने बहकिने सम्भावना हुन्छ । नेपालको विशिष्टतालाई ध्यान दिएर सोच्ने कुरा हो भने अन्यथा लिनु हुँदैन ।’
नयाँ शक्तिका ३ नम्बर प्रदेश संयोजक गङ्गा श्रेष्ठ यसलाई ‘अग्रगामी सोच’ मान्छन् । ‘अहिलेको शताब्दीमा फेलेबर लिएर मात्र सफलतामा पुग्न सकिन्छ भन्नेमा मलाई कम विश्वास छ । सिफ्ट गर्ने कुरा कसैले क्रमिक रुपमा गर्छन्, कसै कसैले आवश्यकताअनुसार क्रमभङ्ग गर्छन् । हामीले गरेको क्रमभङ्ग हो । द्वन्द्वात्मक भौतिकवादी विचारसहित नै क्रमभङ्ग गरेका हौँ । विप्लवजीले २०औं शताब्दीको विज्ञान र कार्यक्रम दुवै बोकेको दाबी गर्नुभएको छ । हामीले २१औँ शताब्दीको कार्यक्रम लिएका छौँ । जे होस्, नाम परिवर्तन गर्ने कुरा अग्रगामी सोच हो ।’ श्रेष्ठको बुझाई छ ।
दोस्रो प्रयोग हुनेछ
विप्लव ले आफूले नेतृत्व गरेको पार्टीको नाममा माओवादी शब्द राखेनन् भने माओवादी पृष्ठभूमिबाट आएका नेताले गरेको यो दोस्रो प्रयोग हुनेछ । ०७२ असोज ९ मा प्रचण्डसँग डिभोर्स गरेका बाबुरामले आफ्नो नेतृत्वमा बनाएको पार्टीको नामममा माओवादीको कुनै साइनो छैन । बाबुरामको नेतृत्वमा नयाँ शक्ति पार्टी नेपाल गठन भएको छ, जसले कम्युनिस्ट विचारधाराबाट पनि आफूलाई टाढा राखेको छ । विप्लवले भने कम्युनिस्ट विचारधाराभित्रै बसेर माअोवादी शब्दविनाको नाम प्रस्ताव गरेका छन् । विप्लवको बुझाइमा उनको पार्टीले क्रान्तिकारीधारको, प्रचण्डको पार्टीले आत्मसर्मपणवादी धार र वैद्यको पार्टीले अकर्मण्यतावादीधारको नेतृत्व गरेको छ । विप्लवको पार्टीले बाबुराम विर्सजनवादमा पुगेको विश्लेषण गरेको छ ।
चर्चामा विप्लव माओवादी
कहिले ‘भौतिक कारवाही’ त कहिले ‘चन्दा आतंक’ ले विप्लव माओवादी चर्चामा आईरहन्छ । उनले आफ्नो नेतृत्वमा पार्टी गठन गर्दासम्म केही प्रयोग गर्दै अगाडि बढेका छन् । ०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बन्यो, नकेपा–माओवादी । प्रचण्ड र बाबुरामसहितका नेतासँग वैद्यसँगै सम्बन्ध विच्छेद गर्नेमा विप्लव पनि थिए । विप्लवलाई त्यसबेला पार्टी विभाजन गराउने एक सूत्रधारका रुपमा प्रस्तुत गरियो ।
प्रचण्ड र बाबुरामसँग सम्बन्ध विच्छेद गरेका वैद्य र विप्लवले ०६९ पुस २७ देखि माघ २ सम्म सातौँ राष्ट्रिय सम्मेलन गरे । वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भयो । महाधिवेशनबाट जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा पारित भयो ।
वैद्यसँग सम्बन्ध विच्छेद नगर्दै विप्लव पक्षले आफ्नो कार्यशैली भूमिगत सुरु गरेको थियो । पार्टीभित्र पार्टी, सङ्गठनभित्र सङ्गठन र योजनाभित्र योजनाअनुसार विप्लवपक्षको भिन्दै संचरना निर्माणको गृहकार्य, १८ कात्तिकको राति कार्यदिशाअनुसार विप्लवले देशभर ‘वालपेन्टिङ’, ‘नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिउँ, एकीकृत क्रान्तिको सिद्धान्त जिन्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद’ जस्ता नारासहित गरिएको वाल पेन्टिङ गराएका थिए ।
‘वाल पेन्टिङ’ लगत्तै २६ र २७ कात्तिकमा कपिलवस्तुको शिवगढीमा विप्लवपक्षीय नेताहरुको गोप्य भेला भयो । प्रत्येक जिल्लाबाट दुई–दुई जना, केन्द्रीय सदस्य र जनवर्गीय सङ्गठनबाट प्रतिनिधित्व रहेको भेलाले विप्लवको प्रस्तावलाई परिमार्जनसहित पारित गर्यो ।
बूढाहरुबाट क्रान्ति हुन नसक्ने अवस्था आएको भन्दै विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे ।
पार्टी मुख्यालय बुद्धनगरमा ८ मङ्सिरमा गएर विप्लव र खड्कबहादुर विश्वकर्माले मोहन वैद्यको माओवादीसँग सम्बन्ध विच्छेद गरेको लिखित पत्र बुझाएपछि आफूपक्षीय नेताहरुको गोप्य वैठक चिवतनमा डाके । ११ देखि १३ मङ्सिरसम्म भएको वैठकले विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन गर्यो । सात सदस्यीय हेडक्वाटर र ६५ सदस्यीय प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति बनाए पनि उनीहरुको नाम भने सार्वजनिक गरिएन । यी सवै माओवादीकै नाममा भए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा कालो झन्डा गाड्नेदेखि एनसेलका टावर हान्नेसम्मका काम विप्लव माओवादीकै नाममा भए । सेभ दी चिल्डे«न र बल्र्ड भिजनजस्ता अन्तर्राष्ट्रिय संस्थामा आक्रमण होस वा लगानी बोर्डका सीईओ राधेश पन्तको घर घेराउ र वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो दलेर विप्लव माओवादीले चर्चा बटुलेको थियो । अदालत परिसरमै लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने प्रयास नै किन नहोस्, सवै विप्लव माओवादीकै नाममा भए । रातोपाटी