नेपालमा व्यवस्था फेरियो, अवस्था फेरिएन । पात्रहरु फेरिए, प्रवृत्ति फेरिएन नेपालका राज्य सञ्चालक, यसका निकायहरु कति कमजोर र लाचार छन् भन्ने उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन, यसबाटै प्रस्ट पुष्टि गर्न सकिन्छ । मूलुकको शैक्षिक क्यालेण्डर अनुसारमा चैत्रमा शैक्षिक सत्र सकिन्छ । वैशाखदेखि भर्ना अभियान गरेर जेठ १ देखि नयाँ शैक्षिक सत्र आरम्भ हुन्छ । र यसका लागि नेपाल सरकार, यसको मन्त्रालयले पाठ्यपुस्तक छपाई, दुरदराजका गाउँसम्म ढुवानी गर्ने समय र तयारी प्रयाप्त हुन्छ नै । तर, दुर्भाग्य भन्नुपर्छ शैक्षिक सत्र सकिने बेलासम्म पनि अत्यन्तै दुर विकट वस्तीका विद्यालयहरुमा पुस्तक पुग्न नसकेको कुरा हामीलाई सर्वविदितै छ ।
यसवर्ष पनि पुस्तक छपाईमा अत्यन्तै ढिलाइ भईरहेको छ । यसको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले केही कारणहरु देखाइरहेको छ । कोरोना महामारी, स्थानीय तहको निर्वाचन र रुस युक्रेन युद्धका कारण भारतमा कागज अभाव भएको र भारतमै अभाव हुँदा नेपालमा पनि अभाव देखिएको दाबी छ । अझै ३५ लाख पुस्तक छाप्न बाँकी छ । यो कहिलेसम्म छापिन्छ भन्ने यकिन छैन । जुन विगतमा पनि अनेकन विषय र बहाना बनाएर ढिलाई हुन्थ्यो । नेपाली विद्यार्थीले उही पुरानो नियति अहिले पनि भोग्न विवश छन् ।
स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहेर शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेकोले अभिभावक विधार्थी साथै विद्यालय र शिक्षकहरु अन्योलग्रस्त अबस्थामा छन् । सबैको चासोको विषय अबका कति महिनासम्म पाठ्यपुस्तक नआउने भन्ने बिषयमा बढिरहेको छ ।
सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाईमा हेलचक्राँइ गरेर पाठ्ययपुस्तक छपाईमा ढिलासुस्ती गरेर विधार्थीको भविष्यमाथि खेलबाड गरिरहेको छ । फेरि यस्तो समस्या अहिले यसवर्ष मात्रै भएको होइन । हरेक वर्ष यही नियति दोहोरिरहेको हुन्छ । सरकारको नेतृत्वमा पार्टी फेरिएका हुन्छन्, मन्त्रीको रुपमा पात्र फेरिएका हुन्छन्, कर्मचारीको रुपमा सरुवा बढुवा भएर बदलिएका हुन सक्छन् । तर, सरकार सञ्चालन, यसका संयन्त्रहरु कति गैरजिम्मेवार, योजनाविहीन, अस्तव्यस्त छन् भन्ने चाही यसबाटै प्रष्ट हुन्छ ।
आजको समय र सरकारले पनि किन यस्तो संवेदनशील विषयमा समयमै तयारी गर्दैन ? या जिम्मेवारी प्राप्त संस्था र निकायको चरम लापरवाहीमा पनि किन छुट दिइन्छ ? यो प्रश्नको उत्तर त जरुर खोज्नु पर्छ नै, त्यसैले सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गरी जतिसक्दो चाँडो स्कूलमा पाठ्यपुस्तक पठाउनै पहल र दबाब दिऔं । किनकी कुनै पनि नेपाली विद्यार्थीले पाठ्यपुस्तकको अभावमै शैक्षिक सत्रको अन्त्यसम्म प्रतिक्षा गर्न नपरोस् । तुरुन्त पाठ्यपुस्तक छपाई विधार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गरियोस्