संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारीले विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख मोहम्मद सदरुल, न्युज २४ की सम्वाददाता तारा आचार्य, निगरानी अनलाइनकी राजकुमारी तामाङ र सिम्रिक एफएम पथरीकी एलिना दियालीलाई पुरस्कृत गर्न लागेको हो ।

सहकारी संस्थाका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा सोमबार बसेको बैठकले पुरस्कृत गर्न पत्रकारहरु छनौट गरेको हो । सहकारीको दशौं स्थापना दिवसको अवसर पारेर असार २७ गते उनीहरुलाई सम्मान एवं पुरस्कृत गरिने सहकारी संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए । २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट न्यौपाने र श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजार छ । यो पुरस्कारका लागि समाजसेवी गोयलले पाँच लाखको अक्षयकोष खडा गरी त्यसको व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गरिदै आएको छ ।

Advertisement

कोरोना महामारीका कारण नवौं स्थापना दिवस मनाउन नसकिएकाले २०७७ सालको पुरस्कार पनि यसै वर्ष प्रदान गरिने सहकारीले जनाएको छ । २०७७ सालको ओमप्रकाश आर्थिक पत्रकारिता पुरस्कारबाट न्यौपानेलाई र २०७८ को श्रेष्ठलाई प्रदान गर्न लागिएको हो । यसभन्दा अगाडि यो पुरस्कार इलामका पत्रकार भीम चापागाईं र काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरिएको थियो ।

यस्तै २०७७ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सदरुललाई र २०७८ सालको पत्रकार आचार्यलाई प्रदान गर्न लागिएको हो । यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई र देवनारायण साह पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट ंमोरङमा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिने गरेको छ । यो पुरस्कारको राशि २१ हजार छ ।

यस्तै २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियाली मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । यस पुरस्कारको राशि नगद १० हजार छ । यस अघि यस पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योती चौहान र उमा पोखरेल पुरस्कृत भैसकेका छन् । मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार पूर्वाञ्चलमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!