Rabin Katel
निषेधाज्ञामा धनकुटाको हुलाकटोल । फाइल तस्वीर: सन्तोष सुवदी/संगालोखबर

धनकुटा । धनकुटामा थप आठ दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिक प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले असार ३ गतेसम्म निषेधाज्ञा थप गरेका हुन् ।

धनकुटामा बुधबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको थियो । निषेधाज्ञा सकिने दिन बुधबार अपरान्ह सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले निषेधाज्ञा थप गरेका हुन् । बिहिवारबाट केही खुकुलो प्रावधानसहित निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । ‘असार मसान्त आउँन लागेकाले कर तिर्नेहरुलाई सहजताका लागि करदाता सेवा कार्यालय बन्द नगर्ने निर्णय गरेका छौं । त्यस्तै, बैंक, पुस्तक पसल र वाँस तथा काठ बोक्ने सवारी साधनको हकमा पनि केही खुकुलो प्रावधानसहित निषेधाज्ञा थप गरिएको छ,’ दाहालले संगालोखबरसँग भने ।

Advertisement

आर्थिक बर्षको अन्त्य हुँन लागेकाले कर तिर्नेहरुलाई सहजताका लागि निषेधाज्ञा अवधिमा पनि करदाता सेवा कार्यालय खुल्ला राखिने भएको हो । त्यस्तै, बैंकहरु खुल्ले समय पनि बढाइएको छ । यसअघि साताको तीन दिनमात्र खोल्न दिइएको भएपनि अब चार दिन बैंक खोल्न दिइनेछ । अब आइत, सोम, वुध र शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म बैंक खुल्नेछन् ।

त्यस्तै अनलाइन कक्षाहरु सञ्चालन भइरहेकाले विद्यार्थीहरुलाई पुस्तक किन्न सहजताका लागि पुस्तक पसलहरु पनि बिहान ७ देखि १० बजेसम्म खोल्न दिइने भएको छ । सवारी मर्मत गर्ने हाइवे क्षेत्रका वर्कसपहरु बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइनेछ । यता, काठ र बाँस ओसार पसार गर्ने सवारी साधनलाई पनि जिल्लाभित्र आवतजावत गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञाका अन्य प्रावधान भने यथावत राखिएको छ ।

दोस्रो चरणको कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि त्यसलाइ नियन्त्रणका लागि धनकुटा नगरपालिका क्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । तर, संक्रमण झन बढ्न थालेपछि जेठ १ गतेदेखि १५ गतेसम्म जिल्लाभर नै निषेधाज्ञा लागु गरियो । त्यसयता पटक–पटक निषेधाज्ञाको म्याद थप गर्दै असार ३ गतेसम्मका लागि निषेधाज्ञा लागु गरिएको हो ।

यस्तो छ निषेधाज्ञा आदेश

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement