
धनकुटा । धनकुटाका थप पाँच जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा १६ जनाको पीसीआर परीक्षण गर्दा दुई पुरुष र तीन महिलामा संक्रमण देखिएको हो ।
धनकुटा–४ का ६१ बर्षीय र महालक्ष्मी ५ का ३० बर्षीय पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै, पाख्रीवास–१० का ३० बर्षीया, महालक्ष्मी–५ का २८ बर्षीया र महालक्ष्मी–५ कै ३६ बर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।
धनकुटा–४ का संक्रमित पुरुष र पाख्रीवास–१० का संक्रमित महिला जिल्ला अस्पतालमा भर्ना छन् । अस्पतालमा उपचारका लागि भर्ना भएका उनीहरुको परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । वाँकी, तीन जना महालक्ष्मी नगरपालिकाबाट स्वाव संकलन भई आएका हुन् ।
धनकुटामा पछिल्लो चरणमा २१ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण शुन्यमा झरेको धनकुटामा दोस्रो चरणको संक्रमण पहिलो पटक धनकुटा–१० का एक जनामा देखियो । त्यसपछि धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सका एक जनामा संक्रमण देखिएपछि गरिएको कन्ट्राक ट्रेसिङमा थप ८ जनामा संक्रमण पुष्टि भयो । त्यसपछि गरिएको परीक्षणमा थप छ र आज थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तो छ धनकुटाको कोरोना अपडेट
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार धनकुटामा हालसम्म २ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये ४५ महिला र ११५ पुरुष गरी १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ३३ महिला र १०६ पुरुष गरी १ सय ३९ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमित ४ महिला र ६ पुरुष गरी १० जनाको मृत्यु भएको छ । धनकुटाका १ हजार ७ सय ४८ जनाले कोरोनाविरुद्धको दुई चरणको खोप लगाएका छन् ।















