झापा । महिलालाई घरमै राखेर वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू छन् ।
दमक नगरपालिका–६ नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही घरबाट १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका आठ जना महिलालाई प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ ।