इलाम । भारतमा ४० वर्ष जेल बसेर केही दिन अघि नेपाल फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहिबार नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयले तिम्सिनालाई नागरिकता प्रदान गरेको हो । त्यस्तै उनका भाई र भतिजासँगको नाता प्रमाणित पनि गरिएको छ ।
दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि इलामका सहायक प्रमुख जिल्ला अधिकारी धरेन्द्र चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले उनलाई नागरिकता प्रदान गरेका हुन् । त्यस्तै, भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको दुर्गाप्रसादसँगको नाता प्रमाणित पनि गरिएको छ ।
उच्च अदालत कोलकाताले तिम्सिनाको परिवारले क्षतिपूर्ति माग दावी गरे दिन आदेश दिएको छ । सोही कारण क्षतिपूर्तिका लागि प्रक्रिया सुरु गर्न लागिएको परिवारले जनाएको छ ।