विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना महामारीको दोश्रो तरङ्ग आउनसक्ने सम्भावनालाई दृष्टिगत गरेर सुरक्षा सावधानी पूर्व तयारी थालेको छ । केही दिनयता भारतका विभिन्न शहरहरुमा बढ्दै गएको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै मोरङ प्रशासनले पूर्व तयारी थालेको हो । आज स्वास्थ्य र सुरक्षा निकायहरुसँग खोप समितिको बैठक बस्दै मोरङ प्रशासनले सीमा सुरक्षामा कडाई गर्ने र छुट भएका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।
पहिलो र दोश्रो चरणको खोप लगाईसकेपछि विराटनगर महानगरपालिकासँग हाल ५ हजार ८ सय ७० डोज कोभिशिल्ड खोपको मौज्दात छ । खोपको म्याद चैत्र मसान्तपछि समाप्त हुने भएकाले खोप लगाउन छुटेका १८ बर्षमाथिका सबै आम नागरिकलाई मोरङ प्रशासनले नजिकैको खोप केन्द्रमार्फत खोप लगाउन आग्रह गरेको छ । विराटनगर महानगरपालिकामा वडा नं. ३, वडा नं. ७, कोभिड अस्पताल, कोशी अस्पताल र विरेन्द्र सभागृहलाई खोप केन्द्र तोकिएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका निर्धारित गरिएको महानगरले जनाएको छ । नागरिकता वा परिचय पत्रको प्रतिलिपी देखाएर कोरोनाविरुद्धको खोप लगाउन सकिने महानगरका जनस्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले बताए । उहाँले १८ बर्ष नाघेका तर नागरिकता नभएकाको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिश आवश्यक पर्ने जानकारी दिए ।
यस्तै, बैठकले रानी भन्सारमा विश्व स्वास्थ्य सङ्गठनले निमार्ण गरिदिएको अस्थायी स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाउने, ल्याब स्थापना गर्ने र ‘एन्टिजेन’ किट मार्फत कोरोना परिक्षण गर्ने निर्णय गरेको छ । ‘एन्टिजेन’ नामक परीक्षण किटबाट शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरि तत्कालै नतिजा पाउन सकिने भएकाले सो निर्णय गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको भनाई छ । यसका साथै मोरङ प्रशासनले सीमा क्षेत्रबाट स्वास्थ्य परीक्षण र स्क्रीनिङ बिना जोसुकैको प्रवेशमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । कोरोनाको दोश्रो तरङ्गसँग लड्न आम सर्वसाधारण स्वयंम सचेत हुनु आवश्यक रहेकाले सम्पुर्ण नगरबासीलाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन मोरङ प्रशासनले आग्रहसमेत गरेको छ ।
नयाँ संक्रमित फेला पर्ने क्रम बढ्यो
पछिल्लो केही दिनयता विराटनगरमा कोभिड–१९ का नयाँ संक्रमितहरु फेला पर्न थालेका छन् । संक्रमितहरुको ट्राभल हिस्ट्री अध्ययन गर्दा अधिकांश भारतबाट आएको देखिएका छन् । १५ दिन अघिसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या शुन्य थियो । तर गएको शनिबार गरिएको परीक्षणमा ४ जना नयाँ संक्रमितहरु फेला परेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भारतबाट आएका व्यक्तिमा संक्रमण देखिन थालेकाले स्वयंम सतर्क हुनु जरुरी रहेको विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास बताउँछन् । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना नगरे कोरोनाको दोश्रो तरङ्गलाई नर्कान नसकिने उनको भनाई छ ।
प्रदेश–१ भर ३० हजार २८७ जनामा संक्रमण
प्रदेश १ मा हालसम्म ३० हजार २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १९ हजार १ सय ८४ जना पुरुष र ११ हजार १ सय ५ जना महिला छन् । जसमा कोरोनामुक्त हुनेको संख्या २९ हजार ७ सय ९३ छ । आज गरिएको परीक्षणमा प्रदेश १ मा थप २ जनामा कोरोना पुष्टि भएको छ । सोमबार थपिएका नयाँ संक्रमितहरु सुनसरीको देवानगञ्ज गाउँपालिकाका १ पुरुष र धरान उपमहानगरपालिकाकी १ महिला छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेश १ मा सक्रिय संक्रमितहरुको संख्या ३० छ । प्रदेश १ मा हालसम्म २ लाख २८ हजार २ सय ९८ जनाको कोरोना परीक्षण भईसकेको मन्त्रालयले जनाएको छ ।