उदयपुर । उदयपुरको कटारी नगरपालिकामा परालको कुन्यूमा लागेको आगो बस्तीमा फैलदा जलेर तीन बर्षीय बालकको मृत्यु भएको छ । तीन वटा घर पनि जलेर नष्ट भएका छन् ।
घरमा आगो फैलदा घर भित्र रहेका कटारी–१० का सुजन थापाको तीन बर्षीय छोरा अरबिन्द्रको मृत्यु भएको हो । आइतवार बेलुका ६ बजे घर निजकै रहेको परालको कुन्यूमा आगलागी भएको थियो । सोही आगो बस्तीमा फैलिएको हो । आगलागीबाट थापाको २ तले कच्ची घरसहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडा, नगद १ लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राका पाठासमेत जलेका छन् ।
त्यस्तै, छिमेकी प्रकाश थापाको घर पनि जलेको छ । घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुन/चाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैसीको पाडोसमेत जलेका छन् ।
त्यस्तैगरी, छिमेकी मेख बहादुर थापाको घरसमेत आगोले जलेको छ । नेपाल प्रहरी र स्थानीयवासीले राती करिब ९ बजे आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट ८३ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।