संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी स्वरोजगार तथा रोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो ।

Advertisement

कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सुर्याेदय र देउमाई, उदयपुरको बेलका र कटारी, तेह्रथुमको आठराई र म्याङ्लुङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरिएको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदिप गौतमले जानकारी दिए ।

आगामी माघ १ गतेदेखि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका छन् । पालिका केन्द्रित कार्यक्रम भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहका प्रमुखहरुलाई मन्त्री घिमिरेले सुझाव दिए ।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग आज स्किम बैँक सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम गरेको छ । पुँजी/अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्कीम नभएका युवाहरुलाई अनुकुलका उद्यम गर्नका लागि स्कीम दिने गरि कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो ।

चालु आर्थिक बर्षमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि १० करोड ५० लाख विनियोजन गरिएको छ । तालिम स्थानीय तहको माग बमोजिम सञ्चालन गरिने छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!