संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न हुने गरि आज मुख्यमन्त्री शेरधन राईले प्रयोगशालाको शिलान्यास गरेका हुन् ।

Advertisement

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणपछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री राईले बताए । उनले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको नियमन हुनेसमेत बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरुमा जानुपर्ने समस्याको अन्त्य हुने बताए । उनका अनुसार प्रदेशभित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्नेछ । उनले शिलान्यासको ८ महिनापछि सेवा शुरु गरिने दाबीसमेत गरे ।

प्रदेश सभाषद् जयराम यादवले कुनै पनि परीक्षणका लागि काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । त्यस्तै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला निर्माण हुनु गौरवको विषय भएको भन्दै प्रयोगशाला निर्माणका लागि आवस्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।

प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाईरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, सेभ चिल्ड्रेन प्रदेश १ र २ का वरिष्ठ परियोजना व्यवस्थापक हरिवोल बजगाई, विराट मेडिकल कलेजका प्रयोगशाला विज्ञ सन्तोष काफ्ले लगायतले मन्तव्य राखेका थिए ।
सेभ द चिल्ड्रेन र ग्लोवल फण्डसँगको सहायतामा निर्माण गरिने प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!