
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगास्थित नामजाङ टोलमा पहिलो पटक बस पुग्दा चालकलाई सम्मान गरिएको छ । गाउँमा पहिलो पटक बस पुर्याउँने को.१ ख.४५३१ नम्बरको बसका चालक नगेन्द्र बिकलाई सम्मान गरिएको हो ।
गाउँमा बस पुगेको खुशीयालीमा स्थानीयबासीले अबिर र फुलमाला लगाएर चालकसहित बसका कर्मचारीलाई आईतबार सम्मान गरेका हुन् । गाउँमा पहिलो पटक बस आईपुगेकाले खुशीयालीमा चालकलाई सम्मान गरिएको स्थानीय हरी काफ्लेले बताए । ‘पहिलो पटक बस आईपुग्दा गाउँमा खुशीयाली छाएको छ ।’ सडक उपभोक्ता समिति अध्यक्षसमेत रहेका काफ्लेले संगालोखबरसँग भने–‘पहिलो पटक बस आईपुगेको खुशीयालीमा नामजाङ टोलमा ड्राईभरलाई अबिर र फुलमाला लगाएर सम्मान गरेका हौं ।’
गाउँमा बस पुर्याएको खुशीयालीमा केही स्थानीयबासीले चालकलाई नगदसमेत दिएका छन् । अब, महालक्ष्मी–९ चौकीडाँडाबाट गणेशटार पिपलडाँडा, बजगाउँ, जीतपुर हुँदै मारेककटहरेस्थित मुलखर्कसम्म नियमित बस सेवा सञ्चालन हुँनेछ । धरानबाट सिधुवा हुँदै सोही सडकबाट मुलखर्कसम्म बस जाँने भएपछि नामजाङ टोलबासीले हर्षित भएर चालकलाई सम्मान गरेका हुन् ।
तीन बर्ष अघिदेखि सो सडक निर्माण थालिएको थियो । सुरुमा वडाले निर्माण थालेको सडकमा प्रदेश सांसद ईन्द्रमणी पराजुलीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट १५ लाख रकम उपलब्ध गराएका थिए । पुनः पूर्वाधार कार्यालयमार्फत थप ५० लाख बजेट उपलब्ध गराएर नियमित बस गुड्न सक्ने सडक बनाईएको सांसद पराजुली बताउँछन् ।
अहिले महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुरमा दैनिक दुई वटा बस पुग्ने गरेका छन् । दैनिक एउटा बस सिधुवा–निगाले हुँदै जीतपुर पुग्ने गरेको छ भने अर्को बस त्रिसुले–हात्तिखर्क हुँदै जीतपुर पुग्ने गर्छ । अब, अर्को बस पनि थपिएकाले मुर्तिढुंगा क्षेत्रबासीलाई धेरै सहज हुँने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । ‘तरकारी उत्पादनका हिसावले पनि मुर्तिढुंगा क्षेत्रमा राम्रो सम्भावना छ ।’ मेयर नेपालले भने–‘नियमित गाडी गुड्न थालेपछि आवतजावतमा सहजतासँगै अब, त्यहाँको तरकारी बाह्य निर्यातमा पनि धेरै सहज हुन्छ ।’















