संगालोखबर सम्वाददाता

धनकुटा । ९ बर्ष अघिदेखि बिरामी परेर थलिएका भोजपुरको षडानन्द नगरपालिका–३, खार्ताम्छाका रामबहादुर राईको उद्धार गरेर लैजाने क्रममा धनकुटामा मृत्यु भएको छ । ७० बर्षीय राईको दयनीय अवस्था थाहा पाएपछि प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर नेतृत्वको टोलीले उद्धार गरेर बिराटनगर लैजाने क्रममा धनकुटामा उनको मृत्यु भएको हो ।

Advertisement

राईलाई राज्यमन्त्री गजमेर नेतृत्वको टोलीले शनिवार बिहान भेटेर उनको अवस्था बुझी बिराटनगरस्थित मानवसेवा आश्रम लैजादै गर्दा बाटोमा उनलाई स्वास्थ्य समस्या देखियो । त्यसपछि उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याईएका राईलाई डाक्टरले शनिवार राती मृत घोषित गरेका हुन् । उनको शवलाई धनकुटा अस्पतालमा राखिएको छ ।

राईको घरमा भएका एक मात्र सन्तान छोरा पनि मानसिक समस्याबाट ग्रसित छन् । भोजपुरबाट ल्याईएका बाबुछोरा मध्ये छोरालाई भने बिराटनगरस्थित आश्रम लगिएको छ । विरामी भई थला परेपछि स्थानीय स्वास्थ्यकर्मीले उनलाई स्लाईनपानी लगाएर प्राथमिक उपचार गरेका थिए ।

ओछ्यानसमेत नहुँदा पराल ओछ्याएर सुतेका राईलाई स्लाईनपानी चढाईएको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको थियो । बिभिन्न सञ्चारमाध्यमले उनको दयनीय अवस्थाको समाचार सम्प्रेषण गरेपछि प्रदेश सरकारले उनको उद्धारमा चासो देखाएको थियो । तर, उद्धार गरेर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!