
विराटनगर । प्रदेश १ मा शनिबार ९० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४ र ताप्लेजुङमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७/७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै सुनसरीको धरानमा १५, इटहरीमा १०, इनरुवामा २, स्थानीय तह नखुलेका १, मोरङको सुनबर्षीमा ३, विराटनगरमा २, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा १/१ जना थपिएका हुन् ।
यता इलामको इलाम नगरपालिकामा ५, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, थुलुङ दुधकोशीमा १, र ताप्लेजुङको फुङलिङमा २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४७ पुगेको छ । जसमध्ये २२ हजार ८९९ जना निको भईसकेका छन् ।
प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १६३ जना संक्रमित निको भएका हुन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन् ।















