
उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किदा गएराती एक वन रक्षकको मृत्यु भएको छ । जंगलमा भेटेर ल्याएको भरुवा बन्दुक पड्किदा सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरीको दुहवीका ४० वर्षीय लेखनाथ वास्तोलाको मृत्यु भएको हो ।
जंगलमा गस्ती गएका बेला लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । सोही बन्दुक ल्याउँने क्रममा राति १० बजे पड्किदा बनरक्षक वास्तोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किएको हो ।
जंगलमा बन्दुक कसले छाडेको हो भन्ने नखुलेको भएपनि वन्यजन्तु चोरी सिकारी गर्ने समूहले वन रक्षक आएको थाहा पाएर बन्दुक छोडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।















