फुङलिङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । फुङलिङ नगरापालिकामा पर्ने सो बजार चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको थियो । बजार फेरि साप्ताहिकरुपमा बन्द हुनेछ ।
दशैँ–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले साप्ताहिक बजार खुलाएको थियो । “अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द हुनेछ”,सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले बताए ।
सङ्घले चिसो मौसम शुरु भएकाले विभिन्न किसिमका सङ्क्रमणविरुद्ध विशेष सावधानी अपनाउन समुदायका सदस्यलाई आग्रह गरेको छ । वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले चिसो मौसम शुरु भएकाले रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या देखापर्ने भएको सोविरुद्ध विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटनासमेत हुने भएकाले सतर्क र संवेदनशील रहन पनि आग्रह गरेको छ ।