रासस

झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले  मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलो पटक सो प्रजातिको चरा भेटिएको उनको जिकिर छ ।

Advertisement

चराका बारेमा पुस्तक लेख्दै आएका डा.हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन् । “मैले यही मङ्सिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ”, मेचीनगर–६ निवासी  खरेलले .भने, “फोटो खिचेर पक्षी संरक्षण सङ्घ र डा. बराललाई पठाएँ, उहाँले यो पंक्षी हरित परेवा रहेको र  पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।”

चराहरुको खोजी र संरक्षणमा पाँच वर्षदेखि लागिरहेका उनले झापा, इलाम, सुनसरी, चितवन लगायत स्थानमा डुलेर पंक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन् ।

नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्याङ्क छ । हरित परेवालाई अहिलेसम्म  पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले जिकिर गर्नुभयो । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।

हरित परेवा  पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ । मेचीनगरका मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जङ्गल क्षेत्रमा ३०० प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उनले ती चरालाई संरक्षण गरी  पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!