रबिन कटेल

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सुत्केरी महिलाहरुलाई पोषण भत्ता दिन थालेको छ । चालु आर्थिक बर्षदेखि ‘उपाध्यक्षसँग सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम’ सुरु गरेर गाउँपालिकाले सुत्केरी महिलाहरुलाई प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउँन थालेको हो ।

Advertisement

सुत्केरी गराउँनका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहन गर्दै मातृ र बाल मृत्युदर घटाउँन उपाध्यक्षसँग सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । ‘स्वास्थ्य संस्थामा सुत्केरी गराउँनेहरुलाई गाउँपालिकाको तर्फबाट पोषणयुक्त खानेकुरा खानका लागि रकम उपलब्ध गराउँन थालेका छौं ।’ अध्यक्ष राईले भने–‘स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा मात्र रकम पाउँने हुँनाले घरमै सुत्केरी गराउँने क्रम घट्छ । त्यसैले स्वास्थ्य संस्थामा सुरक्षित तवरले सुत्केरी गराउँदा आमा र बच्चाको मृत्युदर घटाउँन पनि यो कार्यक्रमले सहयोग पुग्ने अनुमान गरेका छौं ।’

रकम पाउँन गर्भावस्थामा चार पटक स्वास्थ्य जाँच गराउँनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी गराउँनुपर्ने नियम तोकिएको छ । सहिदभूमिको साम्बुगाउँ स्वास्थ्य चौकी र आँखिसल्ला स्वास्थ्य चौकीमा प्रसुति केन्द्र छ । सोही प्रसुति केन्द्रमा सुत्केरी गराउँने वा त्यहाँबाट अन्यत्र रेफर गरेर पठाईएमा पनि सुत्केरी भएपछि रकम उपलब्ध गराईनेछ । गाउँमा असुरक्षित तवरले सुत्केरी गराउँने गरिएकाले त्यसलाई न्यूनिकरण गरी स्वास्थ्य संस्थामा सुरक्षित तवरले सुत्केरी गराउँन प्रोत्साहन गर्ने भएकाले यो कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

कार्यक्रम अन्तर्गत पहिलो पटक सोमबार १७ जना सुत्केरी महिलाहरुलाई रकम उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए । साम्बुगाउँ स्वास्थ्य चौकीमा कार्यक्रम आयोजना गरी सुत्केरी महिलाहरुलाई रकम प्रदान गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले पोषिलो खानेकुरा खान आग्रह गर्दै सुत्केरी महिलाहरुलाई प्रतिव्यक्ति दुई हजारका दरले रकम हस्तान्तरण गरेकी छन् । अब सो क्षेत्रका बाँकी २० जना सुत्केरीलाई केही दिन भित्र रकम उपलब्ध गराउँने तयारी गरिएको छ । अहिले सामुहिक रुपमा कार्यक्रम गरेर रकम हस्तान्तरण गरिएको भएपनि अब सुत्केरी हुनासाथ स्वास्थ्य संस्थाबाटै रकम उपलब्ध गराउँने व्यवस्था मिलाईने प्रमुख प्रशासकीय अधिकृत शाक्यले जानकारी दिए ।

सहिदभूमि गाउँपालिकाले गाउँका प्रसुति केन्द्रमा सुत्केरी गराउँन पुगेर त्यहाँबाट रेफर गरेर पठाउँनु परेकाहरुलाई यातायात खर्चसमेत उपलब्ध गराउँने गरेको छ । साम्बुगाउँ स्वास्थ्य चौकीबाट रेफर हुँनेलाई ४ हजार ३ सय र आँखिसल्ला स्वास्थ्य चौकीबाट रेफर हुँनेलाई २ हजार ६ सयका दरले रकम उपलब्ध गराउँने गरिएको छ । धनकुटा जिल्ला अस्पतालसम्मको दुरीलाई आधार मानेर फरक–फरक दरमा यातायात खर्च उपलब्ध गराउँने गरिएको गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement