विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ सय वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितका वेड थप गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
बिराटनगरमा मंगलबार प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा बोल्दै मन्त्री घिमिरेले यस्तो जानकारी दिएका हुन् । प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको भन्दै उनले प्रदेश भरि ५ सय वेड विस्तार गर्ने तयारी गरिएको बताए ।
कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्था अनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन पनि दिए । ‘तेह्रथुमको आठराई र विराटनगरमा संक्रमणको अवस्था फरक छ ।’ मन्त्री घिमिरेले भने–‘अवको चुनौतिलाई सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवश्यक छ ।’
उनले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दापनि स्थानीय स्तरको अवस्थाबारे पनि खोजि गर्न आवश्यक रहेकोमा जोड दिए । कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेको प्रति उनले गुनासोसमेत गरे । कार्यस्थलमा पनि स्वास्थ्य सावधानी अपनाएको नपाईएको मन्त्री घिमिरेले बताए ।
कार्यक्रममा मन्त्री घिमिरेले निजी अस्पतालको स्वीकृति र नियमनमा स्वास्थ्य कार्यालय प्रमुखहरुले ध्यान दिनुपर्ने आवश्यकता औल्याए । स्वीकृति दिँदा मापदण्ड अनुसार भए/नभएको हेर्ने र अनुगमनको काम स्वास्थ्य कार्यालयले गर्नुपर्नेमा उनले जोड दिए ।