धनकुटा । धनकुटामा ल्याईदै गरेको दुई गाडी अबैध सामान प्रहरीले बरामद गरेको छ । राजश्व छलेर विराटनगरबाट मारुती भ्यानमा ल्याउँदै गरिएको सुर्तीजन्य पदार्थ र धरानबाट बिलबिजक बिना पिकअपमा राखेर ल्याईदै गरेको बिस्कुट प्रहरीले बरामद गरेको हो ।
धनकुटाको जिरोपईन्टमा चेकजाँच गर्ने क्रममा बा.१३ च ४२९६ नम्बरको मारुती भ्यानमा राखेर ल्याईदै गरेको अवस्थामा बिभिन्न नामका तयारी खैनीका प्याकेट र गुट्का फेला परेको हो ।
धनकुटा बजारसहित हिले, बसन्तपुर लगायत स्थानमा बिक्रिका लागि ल्याईएको करिब २ लाख ५० हजार मूल्य बराबरको सुर्तिजन्य पदार्थसहित भ्यान चालक बिराटनगर–४ जामुनगाछीका ३० वर्षीय सतिश कुमार शर्मालाई नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए । उनका अनुसार सुर्तीजन्य पदार्थसहित भ्यान र चालकलाई कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय धरान पठाईएको छ ।
त्यस्तै, जिरोपईन्टमै चेकजाँच गर्ने क्रममा को.१ च ५६३९ नम्बरको वुलेरो पिकअपमा राखेर ल्याईएको बिलबिजक बिनाको एक गाडी बिस्कुट पनि प्रहरीले नियन्त्रणमा लिएको छ । धरानबाट हिले, सिधुवाका पसलमा बिक्रिका लागि लगिदै गरेको उक्त बिस्कुटको बिलबिजक नभएको पाईएकाले नियन्त्रणमा लिएर कारबाहीका लागि करदाता सेवा कार्यालय धनकुटामा बुझाईएको एसपी अधिकारीले बताए ।
पछिल्लो समय धनकुटामा प्रहरीले सक्रियता बढाएपछि अबैध सामान बरामद हुँने क्रम पनि बढ्दै गएको छ ।