
मोरङ । मोरङमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय संक्रमित पुरुषको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।
मृतकलाई श्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।
बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय बृद्धको पनि कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि केन्द्रमा ल्याइएका उनको मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
दमको पुरानो बिरामी रहेका वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचार भईरहेको थियो ।















