संगालोखबर सम्बाददाता

धनकुटा । व्यापारीक भवनहरुको भाडा तथा अन्य व्यवसायको कर एवं राजश्व बापतको करिब ४० लाख रकम नगरबासीलाई छुट गर्दा धनकुटा नगर प्रमुख चिन्तन तामाङ सम्मानित भएका छन् । नगर प्रमुख तामाङलाई उद्योग बाणिज्य संघको तर्फबाट मंगलबार सम्मान गरिएको हो ।

Advertisement

उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको टोलीले नगर प्रमुख तामाङकै कार्यकक्षमा पुगेर उनलाई सम्मान गरेको हो । उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राई, पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, उपाध्यक्ष निर्मला राई, महासचिव रामबहादुर गोङ्वा तामाङ्ग लगायतले नगर प्रमुख तामाङलाई दोसल्ला, खादा र टिका लगाई सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले आफू सधै नगरबासीको हितमा लागि पर्ने प्रतिवद्धता जनाए ।

नगरपालिकाले भाडा, कर एवं राजश्व वापत महामारीको समयमा नगरबासीलाई करिब ४० लाख बराबरको छुट दिएको छ । भाडामा १२ लाख, ठेक्कामा १२ लाख र कर तथा राजश्व बापत १६ लाख बराबरको छुट दिईएको नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईले जानकारी दिए । उनका अनुसार धनकुटा बसपार्क तथा आसपास क्षेत्रका व्यापारीक भवनहरुको भाडा बापत १२ लाख रुपैयाँ भन्दा बढी रकम छुट गरिएको छ । नगरपालिकाको व्यापारीक भवनमा बस्ने धनकुटा बसपार्क क्षेत्रका व्यवसायीलाई ५ महिना २० दिन र अन्य क्षेत्रका व्यापारीक भवनमा रहेका व्यवसायीलाई २ महिना २० दिनको भाडा छुट गरिएको छ ।

त्यस्तै हिले र धनकुटाको हटियालाई ४ महिना, ढाटबाट उठाईने पार्किङ्ग तथा पूर्वाधार उपयोग शुल्क ठेक्कामा ४ महिना र फुङ्सुवासहितका खोलाको ढुंगा गिट्टी बालुवा ठेक्कामा बार्षिक आधारमा हुन आउँने शुल्क अनुपातमा २ महिनाको शुल्क छुट दिईएको छ । जुन १२ लाख बराबर हुन आउँछ । त्यस्तैगरी, नगरपालिकाले गत आर्थिक बर्षको व्यवसाय कर र घर वहाल करमा २५ प्रतिशत र व्यवसायीहरुबाट लिईदै आएको सरसफाई करमा पनि २० प्रतिशत छुट दिँदा नगरबासीले करिब १६ लाखको सहुलियत पाएका छन् ।

व्यापारी, व्यवसायीहरुलाई महामारीका बेला छुट दिएर नगरपालिकाले सहयोग पुर्याएकाले नगर प्रमुख तामाङलाई सम्मान गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष राईले जानकारी दिए । उद्योग बाणिज्य संघको तथ्यांक अनुसार धनकुटाका ३ सय २४ घर तथा संस्थाले महामारीका बेला भाडा छुट गरेका छन् । धनकुटा नगरपालिका, धनकुटा अस्पताल, नेपाल पत्रकार महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, त्रिवेणी मावि, नेपाल निर्माण व्यावसायी संघ, समाज कल्याण संस्था लगायतले पनि भाडा छुट गरेका छन् । भाडा छुट गर्ने घरधनी तथा संस्थाका पदाधिकारीहरुलाई उद्योग बाणिज्य संघले सम्मान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!