बिराटनगर। बिराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका रुपमा स्तरोन्नति गर्नका लागि सोमबार साझेदारी पत्रमा हस्ताक्षर भएको छ । बिराटनगरमा आयोजित कार्यक्रममा संघीय सरकार, प्रदेश सरकार र बिराटनगर महानगरपालिकाबीच लागत साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
पर्यटन मन्त्री योगेश भट्टराई र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश सरकार, महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो । क्षेत्रीय स्तरका विमानस्थलको क्षमता अभिवृद्धि तथा स्तरोन्नतिमा प्रदेश सरकारको समय लागत सहभागिता सुनिश्चित गर्ने सरकारी नीति अनरुप बिराटनगर विमानस्थललाई काठमाडौंको त्रिभुवन र भैरहवाको गौतमबुद्ध विमानस्थल कै स्तरमा पुग्ने गरी क्षमता अभिवृद्धि गर्न लागिएको हो ।
१५ सय मिटर लामो बिराटनगर विमानस्थलको धावनमार्गलाई अब ३ हजार मिटरको बनाईनेछ । त्यस्तै, अन्य पूर्वाधार विकास गरी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने समझदारी पत्रमा उल्लेख छ ।
समझदारी अनुसार विमानस्थलका लागि जग्गा अधिग्रहणमा महानगरपालिका र प्रदेश सरकारले सहजिकरण गर्नेछन् । यसको लागतमा ५० प्रतिशत प्राधिकरणले बेहोर्नेछ । बाँकी ५० प्रतिशतमध्ये महानगरपालिकाले १० र प्रदेश सरकारले ४० प्रतिशत बेहोर्नेछ ।