विराटनगर । प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक/एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिने गरी सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको हो ।
प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न शिक्षकहरुलाई आधारभूत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धि क्षमता विकास तालिम सञ्चालन गर्न लागिएको हो ।
स्थानीय तहहरुसँगको साँझेदारीमा पहिलो चरणमा ६ वटा स्थानीय तहमा यसै साता भित्र तालिम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ । बुधबार सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगरपालिकावीच सम्झौता भएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिका प्रमख हरिकुमार राना मगरले सम्झौता आदान प्रदान गरेका हुन् । कार्यक्रममा मन्त्री घिमिरेले समय बदलिएकाले शिक्षण सिकाई कक्षा कोठामा मात्र सीमित नराखी सूचना प्रविधिको उपयोग गरी शिक्षा दिन आवश्यक रहेकोमा जोड दिए ।
मन्त्रालयले यसअघि इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरे नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ । बिहिबार उदयपुरको त्रियुगा नगरपालिकासँग पनि सम्झौता हुने मन्त्रालयले जनाएको छ ।