संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

झापा । झापाका छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका–१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर–१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१३ ईलाम रोडबाट प्रहरीले पक्राउ गरेको छ । मे.४ प.७७२६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तैगरी बिर्तामोड नगरपालिका–१ का २१ बर्षीय संदिप धिमाल, २३ बर्षीय आकाश राई र अर्जुनधारा नगरपालिका–७ का १९ बर्षीय आषिश राईलाई १४ ग्राम लागुऔषध ब्राउनसुगरसहित अदुवा पुल छेउबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पुल छेउमा लागुऔषधको कारोवार भईरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४ किलो ५८ ग्राम लागुऔषध गाँजासहित माङसेबुङ गाउँपालिका–६ ईलाम घर भई दमक नगरपालिका–१ बस्ने २६ बर्षीय अर्पण राईलाई पक्राउ गरेको छ । सुराकीको आधारमा उनको कोठा खानतलासी गर्दा गाँजा बरामद भएको हो । पक्राउ परेकाहरुबिरुद्ध कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!