
विराटनगर । प्रदेश १ मा आज ७९ कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ६ जिल्लाका ३६ महिला र ४४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुनसरीका ३७, मोरङका २२, झापाका १६, ओखलढुङ्गाका २ तथा इलाम र उदयपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा र धरानमा १÷१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
मोरङको विराटनगरका ११ महिला ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला पनि संक्रमित भएका छन् । यता, झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बाह्रदशी, मेचीनगर र कनकाईमा १/१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तैगरी, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला र उदयपुरको चौदण्डीगढीकी १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको छ । जसमध्ये १ हजार ९ सय १२ जना निको भएका छन् ।
आज पनि प्रदेश १ का १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५/५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।















