
विराटनगर । प्रदेश १ का थप १ सय ४२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश १ मा १ हजार २ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ३१ महिला र ११२ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा एकैदिन सबैभन्दा बढी ७१ जना कोरोना संक्रमित थपिएका छन् । धरानका १ महिला र ७० पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । इटहरीमा ५ महिला र २ पुरुषमा पनि संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १÷१ महिला, झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १/१ महिलामा कोरोना संक्रमण देखिएको छ ।
उता, संखुवासभाको खाँदबारीमा ३, चैनपुरमा २ र चिचिलामा १ पुरुष संक्रमित भएका छन् । उदयपुरको त्रियुगाका १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ । जसमध्ये १ हजार ८ सय ४३ जना निको भएका छन् । आज पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकी १ महिला र विराटनगरका १ पुरुष छन् । योसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४१ पुगेको मन्त्रालयले जनाएको छ ।















