
झापा । घाँटी काटिएको अवस्थामा मृत भेटिएका झापाको शिवसताक्षी नगरपालिका–११ का गोमनसिंह मगरलाई उनकै साथीले हत्या गरेको खुलेको छ । गत बुधबार शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने सडक किनारमा घाँटी रेटिएको अवस्थामा मगर मृत भेटिएका थिए ।
हत्यामा संलग्न भएको आरोपमा मृतक मगरकै साथी शिवसताक्षी नगरपालिका–८ का ३२ बर्षीय मनकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबीचको आर्थिक लेनदेनको बिषयमा विवाद भएर गोमनलाई मनकुमारले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ ।
यस्तो छ घटना प्रकृति
भदौ १७ गते बिहान १० बजे झापा शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने भित्री सडक खण्डको किनारमा काटिएको अवस्थामा एकजना पुरुषको लास भेटियो भनेर ईलाका प्रहरी कार्यालय झिलझिलेमा खबर आयो । घटनाको जानकारीपछि प्रहरी टोली गएर घटनास्थल सुरक्षित गर्यो । १ नं. प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समुहको टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोलीसमेत अनुसन्धानमा खटियो । हत्यामा संलग्नको खोजीका लागि संघीय प्रहरी ईकाई कार्यालय धरानबाट डग शाखाको केनाईन टोलीसमेत घटनास्थलमा झिकाईयो ।
सोधपुछका क्रममा मृतक गोमनसिंह मगर मंगलबार साँझ साथिलाई भेट्न जान्छु भनि घरबाट निस्किएको खुल्यो । अनुसन्धानका क्रममा प्रहरीले झापा शिवसताक्षी नगरपालिका–८ का ३२ बर्षीय मनकुमार लिम्बुलाई शुक्रबार नियन्त्रणमा लिएर सोधपुछ अगाडी बढायो ।
मनकुमारको बयान उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनले मंगलबार साँझ साँढे ६ बजे गोमनलाई भेट्न बोलाएका थिए । भेट भएपछि गोमनसिंहले चलाएको प्रदेश–०१–०१०१२ प.५२२५ नंम्बरको मोटरसाईलमा उनीहरु हावा खाएर फ्रेस हुन भनेर गए । पछाडी बसेका मनकुमारले गोमनलाई मोटरसाईकल बिस्तारै चलाउँन भने । मोटरसाईकल बिस्तारै गुडिरहेको अवस्थामा मनकुमारले पछाडीबाट गोमनको घाँटी रेटे ।
घाँटी रेटेपछि मोटरसाईकल लड्यो । लडेपछि पनि उनले घाँटी रेटेर गोमनको हत्या गरे । मनकुमारले गोमनको हत्या गरेर शव सडकको नालीमा फाले । यता, मोटरसाईकल अरुले नदेखुन भनेर मनकुमारले केही पर लगि सडकदेखि पूर्वपट्टी जंगलमा लगेर लडाईदिए ।















