
भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा तोकिएको भन्दा तीन गुणा बढि मुल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गर्ने गरेको भेटिएको छ । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने रासायनिक मल स्थानीय व्यापारी अर्जुन कटुवालले प्रतिबोरा २ हजार ५ सय मूल्यमा किसानलाई बिक्री गरेको पाईएको हो ।
मनपरी मुल्य तोकेर गाउँमा मलको कालोबजारी गरेको सूचनाका आधारमा गएको प्रहरीले मल ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ । व्यापारी कटुवाल भने सम्पर्कविहिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यापारी कटुवालले मोरङको सलकपुरबाट रातारात मल ल्याई बढी मुल्यमा बिक्री गर्ने गरेको बताईएको छ ।
गत बुधबार राती व्यापारी कटुवालले ल्याएको ‘उत्तम ब्राण्ड’ को ४० बोरा युरिया मल अरुण गाउँपालिका–५, याकुको ओदानेमा मिनीट्रकबाट झार्ने क्रममा गाउँका केही युवाहरुले देखेपछि व्यापारी कटुवालले गाडी चरम्बीको छाम्ताङ पठाएका थिए । गाउँमा अनधिकृत मल विक्री हुदैछ भन्ने सूचना आएपछि प्रहरी चौकी प्याउलीबाट प्रहरी टोली गएको थियो । प्रहरी टोलीले मल ल्याउँने को.१ ख.३४६६ नम्बरको मिनीट्रकलाई नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरेको प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए ।
कुखुराको चारो भनेर ल्याईयो मल
मल ल्याएर आउने क्रममा धनकुटाको लेगुवा र भोजपुरको जरायोटार प्रहरी चेक पोष्टमा सोधपुछ गर्दा ‘गाडीमा कुखुराको चारो छ’ भनी झुक्याएर गाडी प्रवेश गराईएको थियो । तर, ओदानेमा गाडी रोकिएपछि चालकलाई स्थानीयले सोधपुछ गर्दा याकुका व्यापारी कटुवालले मल ल्याएको बताएका थिए । मलको कुनै पनि पुर्जा नहुँदा कहाँबाट कति मुल्यमा ल्याईएको हो भन्ने यकिन भएको छैन ।
उक्त मिनीट्रकमा जुत्ता, चप्पल, रंग लगायत हार्डवेयरका सामाग्रीमा मल लुकाएर ल्याईएको थियो । यसअघि पनि कटुवालले मल बिक्री गर्दा वास्तविक मूल्यभन्दा तेब्बर बढि मुल्यमा बेचेको खुलेको छ । स्थानीय खुद्रा व्यापारीसमेत रहेका कटुवालले कोरोनाको बन्दमा पनि गाउँमा मनपरी मुल्यमा मल बेच्दै आएका थिए । गाउँमा मलको हाहाकार भएपछि कटुवालले तोकेकै मुल्यमा मल किन्न किसानहरु बाध्य भएको स्थानीय नवराज फुयालले गुनासो गरे ।
गाउँपालिकाका लागि रासायनिक मल खरिद गर्न एचपी सप्लायर्सलाई ठेक्का दिईएको छ । सप्लायर्सले पारेको ठेक्का अनुसार ५० केजीको दरले १ हजार ३ सय ९५ बोरा डिएपी र २ हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गर्नुपर्ने छ । सप्लार्यसले कृषकलाई कोरोना महामारीका कारण मल दिन नसकेको बताएको छ । यता, कृषकले सहुलियत दरमा मल पाउँनुपर्ने र बढि मुल्यमा बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याउँन अरुण गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताए ।















