
धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज दिउँसो दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज–७ का ५५ बर्षीय र सोही स्थानका ५० बर्षीय पुरुष छन् ।
भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएका ५५ बर्षीय पुरुषको दिउँसो १ः१५ बजे मृत्यु भएको हो । उनमा कमजोरी हुने र अल्परक्तको समस्या थियो । मधुमेहको समस्या पनि नियन्त्रण हुन नसकेपछि सप्तरीको छिन्नमस्ता अस्पतालले भदौ ४ गते रेफर गरेर उनलाई प्रतिष्ठान पठाएको थियो । उनलाई १५ बर्षअघिदेखि मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
प्रतिष्ठानमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । गंभीर अवस्थाका उनको आईसियूमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
यता, ५० बर्षीय पुरुषको दिउँसो २ बजे मृत्यु भएको हो । चार दिन अघिदेखि उनमा ज्वरो, श्वासप्रश्वासमा कठिनाई र शरिर सिथिल हुने समस्या सुरु भएको थियो । आज प्रतिष्ठानको ईमर्जेन्सीमा भर्ना भएका उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । उनमा मधुमेह रोगसमेत थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुँने कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।















