
विराटनगर । बिराटनगरका युवाहरुले सोमबारबाट फुड बैंक सञ्चालन गरेका छन् । विराटनगर–४ र ५ जामुनगाछीका ६० जना युवा सम्मिलित क्रियटिभ युथ सोसाईटीले फुड बैंक स्थापना गरेर अतिविपन्न परिवारलाई भान्साको पोको उपहार दिन थालेको हो ।
९० बर्षिय जेष्ठ नागरिक बालकृष्ण घिमिरेको हातबाट अतिविपन्न परिवारका सदस्यलाई खानाको पोको वितरण गरेर फुड बैंकको उद्घाटन गरिएको छ । पाँच महिना यता पटक–पटक भईरहेको लकडाउन र निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्नेहरुलाई विहान बेलुकाको दुई छाक टार्न मुस्किल भईरहेका बेला युवाहरुले सहयोगी अभियान थालेका हुन् । अति बिपन्नलाई विहान बेलुकाको छाक टार्ने व्यवस्था मिलाउँन फुड बैंक संचालन गरिएको अभियानका संयोजक सुरज कटुवालले बताए । उनका अनुसार निषेधाज्ञा जारी रहुन्जेल हरेक दुई–दुई दिनमा अति बिपन्न परिवारलाई भान्साको संयुक्त पोको प्रदान गरिनेछ ।
युवाहरुले सो क्षेत्रका अतिविपन्न परिवारको तथ्यांक संकलन गरेका थिए । राजनीतिक एवं सामाजिक क्षेत्रका अगुवा र जनप्रतिनिधिको सहयोगमा अतिविपन्न परिवार पहिचान गरेर फुड बैंक स्थापना गरिएको हो । पहिचान गरिएका अतिविपन्नबाहेक अन्य व्यक्तिको घरमा पनि छाक टार्न मुस्किल परेमा भान्साको पोको उपलब्ध गराईने योजना रहेको सोसाईटीले जनाएको छ ।
युवाहरुले कार्यक्रममा सहयोग गर्न राजनीतिक दलका अगुवाहरुलाई आग्रह गरेका छन् । यसैबीच फुड बैंकका लागि नेकपा महानगर कमिटिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीले २० क्विन्टल चामलसहित केही खाद्यान्न संकलनमा सहजीकरण गरेका छन् । निर्माण व्यवसायीहरु, विद्यार्थी नेता, सामाजिक क्षेत्रमा क्रियाशिल अगुवाहरु र युवाहरुको समुहले फुड बैंकमा योगदान गरेका छन् ।















