
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसले अनलाईनबाट सबै तहका कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिभुवन विश्वविद्यालयको निर्देशन अनुसार बिद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्न बिद्यार्थीहरुको अवस्था पहिचान थालिएको क्याम्पसले जनाएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि गत चैत ६ गतेबाट सबै पठनपाठन र परीक्षाहरु स्थगित गरिएको थियो । यसबीचमा क्याम्पसले स्नातकोत्तर तहका सेमेष्टर प्रणाली र स्नातक तहका बिएस्सी प्रथम बर्षका कक्षाहरु अनलाईनमार्फत सञ्चालन गर्दै आएको थियो ।
तर, अब बाँकी सबै तहका कक्षाहरु अनलाईन माध्यमबाट सञ्चालन गर्न तयारी थालिएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । ‘हामीले सबै तहका कक्षाहरु अनलाईनबाटै सञ्चालन गर्ने तयारी गरिरहेका छौ । बिद्यार्थीहरुको माईक्रोसफ्ट टिम्सको इमेल आईडी पनि आईसकेको छ ।’ उनले भने–‘अनलाईन कक्षाका लागि सबै बिद्यार्थीहरुलाई सम्पर्कमा आउँन सूचना पनि जारी गरिसकेका छौ ।’
शैक्षिक गतिबिधि सञ्चालनका लागि बिद्यार्थीहरुलाई सम्पर्कमा ल्याउँन क्याम्पसले अनलाईन माध्यमबाट बिद्यार्थी पहिचान फारम भर्ने व्यवस्था मिलाएको छ । कोरोनाका कारण कक्षा सञ्चालन हुँन नसकेपछि बिश्वविद्यालयको शैक्षिक सत्र नगुम्ने गरी अनलाईन कक्षा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगले नेपाल टेलिकमसँग सम्झौता गरी सहुलियतमा ‘ह्याप्पी लर्निङ प्याक’ समेत उपलब्ध गराएको छ ।















