
धनकुटा । धनकुटामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न र भेन्टिलेटरसहितको आईसियू कक्ष निर्माण गर्न सरकारले तीन करोड बजेट उपलब्ध गराएको छ । पीसीआर मेसिन खरिद गर्न एक करोड र जिल्ला अस्पतालमा ६ वटा भेन्टिलेटरसहितको १० वेडको आईसियू कक्ष निर्माण गर्न दुई करोड बजेट सरकारले उपलब्ध गराएको हो ।
पीसीआर मेसिन खरिद गर्न र आईसियू कक्ष निर्माण गर्न सरकारले अनुमति प्रदान गरी कोरोना कोषमार्फत बजेटको सिलिङ पठाएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । ‘माथिबाट बजेट सिलिङ आईसकेको छ ।’ उनले भने–‘अब पीसीआर मेसिन खरिद गर्ने र आईसियू बनाउँने बिधिवत प्रकृया सुरु भएको छ ।’
अब करिब दुई महिना भित्र धनकुटामा ६ वटा भेन्टिलेटरसहितको १० वेडको आईसियू कक्ष निर्माण भईसक्ने डा.विश्वकर्माले बताए । आईसियू कक्ष निर्माणका लागि प्राविधिक ल्याएर केही दिनभित्रै स्थान छनौट गरेर निर्माण प्रकृया थाल्ने तयारी गरिएको छ ।
धनकुटामा पीसीआर मेसिन आउँने र आईसियू बन्ने निश्चित भएपछि धनकुटासहित पूर्वी पहाडी जिल्लाबासीलाई सहजता मिल्ने भएको छ ।















