Rabin Katel

बिराटनगर । मोरङको टंकिसिनुवारीस्थित बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निजी क्षेत्रबाट नेपालमै पहिलो पटक कोरोना संक्रमितको उपचार थालेको छ । बिराटले ६० शैयाको होल्डिङ्ग सेन्टर स्थापना गरेर साधारण अवस्थाका कोरोना संक्रमितको उपचार थालेको हो ।

Advertisement

प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बिहिबार होल्डिङ्ग सेन्टरको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै हस्पिटलका भाईस चियरमेन डेनिस कार्कीले निकै ठूलो चुनौतिकाबीच होल्डिङ्ग सेन्टर स्थापना गरेर कोरोना संक्रमितको उपचार थालिएको जानकारी दिए । ‘कोरोना संक्रमितको उपचारका लागि उपचार सामाग्री बाहेक आवश्यक जनशक्ति र उनीहरुको व्यवस्थापनमा दैनिक १ लाख रुपैयाँ हाराहारी खर्च लाग्छ । यो निकै चुनौतिपूर्ण हो ।’ कार्कीले भने–‘यसका लागि सरकारी निकायको पनि साथ, सहयोगको खाँचो छ ।’

बिराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि केही साता अघि कोरोना संक्रमण भएको थियो । उपचार पश्चात उनी अहिले कोरोना मुक्त भईसकेका छन् । कोरोनालाई जितेका डा.कार्कीले अन्य संक्रमितको सहजताका लागि आफ्नै अस्पतालमा होल्डिङ्ग सेन्टर स्थापना गरेर निजी क्षेत्रबाट पहिलो पटक कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाएका हुन् ।

अस्पतालको मुख्य भवनबाट झण्डै ८ सय मिटरको दुरीमा रहेको होल्डिङ्ग सेन्टरमा अहिले एक जना गर्भवतीसहित चार कोरोना संक्रमित छन् । त्यहाँ भएका ६० बेड मध्ये २० बेड अस्पताल भित्रका स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि र ४० बेड सर्वसाधरणका लागि छुट्याईएको अस्पतालले जनाएको छ । होल्डिङ्ग सेन्टरमा महिला र पुरूषका लागि छुट्टा–छुट्टै वार्डको व्यवस्था गरिएको छ । एसीसहितको आइसोलन वार्डमा फ्री वाइफाइको व्यवस्था पनि छ ।

विरामीको लागि दैनिक चार पटक अस्पतालको क्यान्टिनबाट पोषणविद्को सल्लाह अनुसारको आहारको व्यवस्था गरिएको छ । भर्ना भएका संक्रमितको दैनिक तीन पटक स्वास्थ्य जाँच गरिनेछ । कुनै बिरामीको स्वास्थ्य अवस्था गंभीर भएमा अक्सिजनसहितका उपकरणको व्यवस्था पनि मिलाईएको अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement