सञ्जु सुवेदी
सञ्जु सुवेदी, महालक्ष्मी नगरपालिका ७ धनकुटा (हाल काठमाडौं)

रातो साडी, चोली र झरझुट्ट गहनाले सजिएर हिन्दु नारीहरुले मनाउँने महान चाड हरितालिका तीजको छुट्टै धार्मीक महत्व छ । हिन्दु धर्मका बिभिन्न धार्मीक ग्रन्थ र पौराणीक कथा अनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान बिष्णुसँग गरिदिने बाचा गरेका थिए । पिताको बचन पार्वतीलाई मन नपरेपछि आफूले मनपराएको वर पाउँभनि जंगलमा गएर तपस्या गरिरहेकी पार्वतीले एक सय बर्षसम्म पनि तपस्याको फल नपाएपछि शिव लिंगको स्थापना गरेर निराहार व्रत बसेकी थिइन् । पार्बतीको कठोर ब्रतदेखि शिवजी खुशी भई सोचेकोे पुगोस् भनेर वर दिएको र शिव पार्बतीको बिबाह भएको कथा पढ्न पाइन्छ । पार्बतीले भगवान शिवको स्वस्थ्यमा कुनैपनि बाधा उत्पन्न नहोस भनेर पहिलो पटक ब्रत बसेकी थिइन् । जुन दिनदेखि आजसम्म पनि हिन्दू नारीहरुले हरितालिका तीज हर्सोउल्लासका साथ मनाउदै आएका छन । साथै निराहारा ब्रतसमेत बस्ने गरेका छन् ।

बिशेष गरेर बिवाहित नारीहरुले असार साउनको कामको व्यस्ततापछि थकान मेटाउन माइतिमा भेला भएर आमा, दिदी–बहिनी, साथिसंगीसँग दुःख सुखका कुराहरु साट्ने अवसरको रुपमा पनि तीजलाई चिनिन्छ । विगतका बर्षहरुमा तीजको परम्परागत मौलीकतामा परिवर्तन आएको देखिन्थ्यो । तीज आउनु भन्दा तीन महिना अगाडिदेखि नै बिभिन्न शैलीमा दरखाने कार्यक्रमहरु गरिन्थ्यो । बिशेष गरी शहरी भेगमा बसोबास गर्ने महिलाहरुलाई लक्षित गरी बिभिन्न संघ–सस्थाले पार्टी प्यालेस र होटलहरु बुकिङ्ग नै गरेर दर खाने र ख्वाउने प्रचलनै थियो । अझ भनौ टिकट सिस्टममा दर खाने प्रचलन नै बसेको थियो । यस्ता कार्यक्रमहरुमा महिला मात्र होइन पुरुषहरुको पनि उत्तिकै सहभागिता देखिन्थ्यो । पुरुषहरुलाई पनि तीजको कार्यक्रममा निम्ता गर्ने चलन नै बसेको छ । कतिपय पुरुषहरुले चेलीबेटीलाई दर खुवाउने भनेर आफै दरखाने कार्यक्रमको आयोजनासमेत गर्ने गर्थे ।

Advertisement

महिनौ अगाडिदेखि तीजका गीत बजाएर होटल पाटी प्यालेसमा दरखाँदै छमछम नाचिरहेका दृष्यहरु यस पटक भने देखिएका छैनन् । कोरोेना महामारीले तीजको रौनक नै फेरिदिएको छ । शहरी क्षेत्र मात्र होइन ग्रामीण भेगका महिलाहरुमासमेत प्रत्यक्ष प्रभाव पारेको छ । परम्परागत रुपमा माइती–चेली भेला भएर रमाउदै दर खाने अवसरसमेत मिलेको छैन । बिशेष गरी नव बिबाहिता नारीहरु, जो बिबाह पछिको पहिलो तीज माइतीमा मनाउने गर्छन्, उनीहरुका लागि यस बर्षको तीज निक्कै खल्लो भएको छ । बर्ष दिन अगाडिदेखि नै माइती गएर तीजमनाउने रमाइलो कल्पना गरिरहेका चेलीहरुका लागि महामारी बाधक बनेको छ ।

विश्वव्यापीरुपमा फैलिएको यो महामारीले विश्वमा लाखौंको ज्यान लिईसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यो लेख तयार पार्दासम्म नेपालमा करिब २९ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ । जसमध्ये १७ हजार ५ सय भन्दा बढी निको भएर अस्पतालबाट घर फर्किएका छन् । मृतकको संख्या १ सय २० बाट उकालो लागिसकेको छ । यो क्रम तीब्र रुपमा बढीरहेको छ । महामारी हालसालै अन्त्य हुने कुनै छाँटकाँट देखिएको छैन । तीज मात्र होइन बिगत ५ महिनादेखि विद्यालय, यातायात, ब्यापार, ब्यावसाय, प्रशासनीक कामकाज सबै ठप्प जतिकै छन् । यसबीचमा अएका बिभिन्न चाडपर्बहरु पनि महामारीबाट प्रभावित भएका छन भने अब आउने महान चाड दशै, तिहार पनि प्रभावित हुने देखिएको छ ।

विशेष गरी आर्थिक आयआर्जनको बाटो ठप्प भएकाले दैनिक ज्यालादारी गर्ने मजदुरलाई बिहान बेलुकाको छाक टार्न नै गाह्रो भईसकेको छ । उनीहरु खर्चिला चाडपर्ब नआएकैमा खुसी छन् । यस परिस्थितीमा ज्यान जोगाउन नै कठीन भईरहेको अवस्थालाई मध्यनजर गरी चाडपर्व सरल रुपमा मनाएर आर्थिक भार घटाउनु नै बुद्धिमानी मानिन्छ । ठूलो भिडभाडमा सामेल हुँदा संक्रमण बढ्ने डर पनि उत्तिकै हुँने हुँदा भिडभाड गरेर र धेरै मानिस जम्मा भएर चाडपर्व मनाउनु सुरक्षाका दृष्टिकोणले पनि राम्रो हुदैन । महामारीकै बिचमा पनि बिगतका बर्षहरुमाझै तीज गीत आउने क्रम भने रोकिएको छैन । केही तीज गीतहरु मौलिकता हराएको भनेर विवादमा पनि तानिएका छन् । बिगतका तीजको तुलनामा तीज गीत कमै बजेका सुनिन्छन् ।

धार्मिक, सांस्कृतिक, सामाजिक र परम्परागत रुपमा आफ्नो छुट्टै महत्व रहेको र विशेष महत्वका साथ मनाउने यो चाड नेपाली महिलाहरुमा आएको स्वतन्त्रता र आर्थिक सबलताले नै सायद मनाउने स्वरुप बदलिएको हो । ग्रामीण भेगका बिपन्न महिलाहरुले पनि पहिलाभन्दा केही सहज तरिकाले तीज मनाउने अवसर पाउन थालेका छन । सभ्य तरिकाले होटल पार्टी प्यालेसमा भेला भएर तीज मनाउदैमा बिकृति फैलाउँदैन । यसले परम्परागत संस्कृतिको जगेर्ना गर्न सहयोग पनि गर्छ । पुरुषहरु तीजको कार्यक्रममा सामेल हुनु भनेको चाडपर्वलाई पुरुषहरुले पनि महत्व दिन थालेकाले तीजको महत्व अझै बढेको र आफ्नो संकृतिको जगेर्ना गर्न सहयोगसमेत पुगेको छ ।

यसबर्षको तीज अघिल्ला बर्षहरुमा झै भेला भएर मनाउन नपाए पनि महामारीदेखि जोगिएर बाँच्न सके तीज त अर्को साल फेरी आउछ, परिस्थिती पनि सामान्य हुन्छ । नमरी बाँचे अर्को साल तीज भिड भाड गरेर नै मनाउँला, पाटी प्यालेस र होटलमा नाचगान गरेर नै मनाउँला । यस पटकको तीज आ– आफ्नै घरमा मनाऔं । मौलिकता हराएका तीज गीतलाई हत्तोतसाही गरौ । आफ्नो स्वास्थ्यको ख्याल राख्दै फलफुल पानी खाएर ब्रत बसौं । घरमै तीज गीत बजाएर परिवारसँग नाचेर रमाइलो गरौ । पक्कै पनि महामारीको अन्त्य हुन्छ र अर्को साल हामीसँगै सबै, शकुसल तीज मनाउन पाउँछौं । सबैको घरमा आफ्नो गक्ष अनुसारको दर पाकोस् । चूलो निभाएर कोही पनि भोकै बस्न नपरोस् । सबै नेपाली दाजुभाई दिदीबहिनी, बूवाआमालाई महान चाड हरितालिका तीजको शुभकामना ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!