
धनकुटा । धनकुटा नगरपालिका–९ गुठिटारमा आज बिहान पहिरोले एउटा घर पुरेको छ । बर्षाका कारण बिहान करिब ४ बजे घर माथिबाट खसेको पहिरोले गुठिटारका हेमकुमार राईको घर पुरेको हो ।
पहिरोले पुर्दा एक तले घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । माथ्लोपट्टीबाट पहिरोले थिच्दा घर लडेको छ । पहिरोका कारण करिब ४ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यसैबीच पहिरोले घर पुर्दा हेमकुमारकी १२ बर्षीया छोरी सुनिता घाईते भएकी छन् । धनकुटा जिल्ला अस्पतालमा उनको उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । राईको पाँच जनाको परिवार घरमा बस्दै आएका थियो । पहिरोले घर पुरेपछि उनीहरु बिस्थापित बनेको वडाध्यक्ष सन्दिप रायमाझीले जानकारी दिए ।















