
धनकुटा । धनकुटामा आईतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अधिकार प्राप्तीका लागि आदिवासी जनजातिहरु संगठित र एकतावद्ध हुनुपर्ने आवश्यकता औल्याएका छन् । २६ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ धनकुटाले आयोजना गरेको ‘आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको सवाल’ विषयक अन्तरक्रियाका वक्ताहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा पूर्व सांसद एवं जनजाति महासंघ धनकुटाका संस्थापक संयोजक दुर्गा लिंखाले पहिचान, प्रतिनिधित्व र पहुँचको मुद्दा उठाईरहेको अवस्थामा आदिवासी जनजातिहरु एकताबद्ध हुनुको विकल्प नरहेको जिकिर गरे । लिंखाले पहिचान, प्रतिनिधित्व, पहुँच, मातृभाषा शिक्षा र स्वयत्त क्षेत्रहरुको सवालमा आदिवासी जनजातिहरुले संंविधानमा व्यावस्था भएको अधिकारलाई टेकेर वेला–बेला सरकारलाई ध्यानाकर्षण गराउँनुपर्ने बताए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष सन्जय सन्तोषी राई, पूर्व अध्यक्ष पार्वती राई, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष सन्तवीर लामा, भुजेल सेवा समाजका अध्यक्ष जयपुर्ण भुजेल, किराँत याखा छुम्माका अध्यक्ष नगेन्द्र देवान, किराँत आठपहरिया समाजका अध्यक्ष अष्टवहादुर आठपहरिया लगायतले आदिवासी जनजातिहरु आफ्नो अधिकारका लागि एकतावद्ध भएर अघि वढ्नु पर्नेमा जोड दिए । उनीहरुले आदिवासी जनजाति महासंघ धनकुटाको पदावधी समाप्त भईसकेकाले चाडै अधिवेशन गर्न मागसमेत गरेका छन् ।
सो अवसरमा पहिचान, प्रतिनिधित्व, पहुँचको सवालमा मातृभाषा शिक्षा, स्वयत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई संविधानमा व्यावस्था भए अनुसार कार्यान्वयनको माग गर्दै जिल्ला समन्वय समितिका उप–प्रमुख वंगला राईमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत पठाईएको छ ।















