बिराटनगर । बिराटनगरमा आज कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा बिराटनगर–५ बिजुली अफिस नजिकका ७७ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो ।
केहीदिन अघिदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज बिहान उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । कोरोना संक्रमण भएको हुनसक्ने आशंकामा बिहान स्वाब संकलन गरिएका उनको मृत्यु पश्चात पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
उनको कोशी अस्पतालको आईशोलेशनमा उपचार गरिएको थियो । मृतक बृद्धका छोरा केही दिन अघि अमेरिकाबाट आएका थिए । उनका परिवारका अधिकांश सदस्य काठमाडौं बस्दै आएका छन् ।
प्रदेश १ का व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि मोरङको सुनबर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।