धनकुटा । धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा आईतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट धनकुटा बजार क्षेत्र सिल गरिने भएको छ । आईतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउँने निर्णय गरेको हो ।
धनकुटाको सब्जीलाईन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी चौक क्षेत्र सिल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । ‘अस्पतालसहित आसपासको बजार क्षेत्र अर्को सूचना नहुन्जेलसम्म सिल गरेर उच्च सर्तकता अपनाउँने निर्णय भएको छ ।’ श्रेष्ठले भने ‘संक्रमण फैलन रोकथामका लागि सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा अंगलाई परिचालन गरेर कडाई गरिनेछ ।’
सिल गरिएकोे क्षेत्रमा आवागमन पूर्ण रुपमा निषेध गर्नका लागि नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिनेछ ।
संक्रमितलाई सोमबार बिहान बिराटनगर स्थित कोरोना बिशेष अस्पताल लैजाने निर्णय पनि भएको छ । ३४ बर्षीया संक्रमित महिला अहिले जिल्ला अस्पतालको आईसोलेशनमा छिन् । त्यस्तै कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पीसीआर परीक्षण गरिने भएको छ । संक्रमितको कन्ट्राक ट्रेसिङको काम पनि थाल्ने निर्णय भएको छ ।
संक्रमित महिला लकडाउनको अवधिमा अन्यत्र नगएको र नियमित डिउटीमै रहेकाले अन्य संक्रमित बिरामी मार्फत उनमा कोरोना संक्रमण फैलिएको हुनसक्ने बैठकमा सहभागिहरुले अनुमान गरेका छन् ।
यो पनि पढ्नुहोस्…
धनकुटामा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना