धनकुटा । धनकुटाको नुनथला स्थित कोशी राजमार्गमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाईते भए । तेह्रथुमबाट २५ जना यात्रु बोकेर काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे सडकमा पल्टिएको हो ।
बसमा सवार यात्रुको भनाई अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ति मोड्ने क्रममा चालक छेउको ढोका खुलेर चालक खसेपछि बस भित्तामा ठोकिएर पल्टिएको हो । घुम्तिमा ढोकाबाट चालक बीरेन्द्र श्रेष्ठ हुत्तिएर खसेपछि उनी स्टेरिङ समातेर झुण्डिए । चालक श्रेष्ठ झुण्डिएपछि स्टेरिङ बटारिदा गाडी भित्तामा ठोकिएर पल्टिएको हो ।
दुर्घटनास्थलमा पुगेका सिधुवाका ट्राफिक प्रहरी रामचन्द्र कटुवालका अनुसार चालकले सिट बेल्ट नवाधेका कारण उनी हुत्तिएर खस्दा दुर्घटना भएको हो । ‘चालकले सिट बेल्ट बाधेको भए गाडी गुडिरहेको बेला ढोका खुलेपछि उनी गाडीबाट झर्ने थिएनन् । अनि दुर्घटना पनि टर्ने थियो ।’ ट्राफिक प्रहरी कटुवालले संगालोखबरसँग भने ‘धन्न गाडी भित्तामा ठोकिएर रोडमै पल्टिनाले मानवीय क्षति कम भयो । डिलमुनी खसेको भए धेरै ठुलो क्षति हुँने थियो ।’
गाडी भित्तामा ठोकिएर दाँया तर्फ पल्टिएको छ । गाडी पल्टिदा चालक श्रेष्ठ सडकको नालीमा परेकाले उनी गाडीले थिच्नबाट बचेका हुन् ।
दुर्घटनामा सुनसरीको धरान–७ घर भएका ६० बर्षीय चालक श्रेष्ठ र दोलाखा बैदेश्वर–५ घर भई धनकुटामा मेडिकल चलाउँदै आएका ३८ बर्षीय मेघराज खतिवडा घाइते भएका छन् । अर्का एक घाइतेको पहिचान खुल्न वाँकी छ ।
धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनीहरुको उपचार भईरहेको छ ।
यो पनि पढ्नुहोस्…