संगालोखबर सम्वाददाता

धनकुटा, २१ बैशाख । धनकुटालाई १ नम्बर प्रदेशको स्थायी राजधानी घोषणा गर्न दवाव दिदै शनिवार जिल्ला सदरमुकाममा जनप्रदर्शन गरिएको छ । प्रादेशिक राजधानीका लागि लामो समयदेखि आन्दोलित जिल्लाबासीले स्थायी राजधानी घोषणाको तयारी भईरहेका बेला प्रदर्शन गर्दै धनकुटाको मागलाई वेवास्ता नगर्न चेतावनी दिएका हुन् ।

Advertisement

स्थानीय मदनचौकबाट निश्किएको जुलुशले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात पुनःमदनचौकमा पुगेर सभा गरियो । सभालाई संबोधन गर्दै नेताहरुले हरेक हिसावले राजधानीका लागि उपयुक्त रहेको धनकुटालाई वेवास्ता गरे ठुलो मुल्य चुकाउँनुपर्ने चेतावनी दिए । उनीहरुले जुनसुकै हालतमा धनकुटालाई प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने अडान दोहोर्याए ।

कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका जिल्ला सचिव ऋषिराम ढंगानाले राजधानीका लागि धनकुटानै सवैभन्दा उक्तम स्थान भएकाले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न जोडदार माग गरे । हरेक हिसावले राजधानीका लागि उपयुक्त रहेको धनकुटालाई मुकाम बनाउँन जिल्लाबासीले पटक–पटक आन्दोलन गर्दै आएकाले यसलाई वेवास्ता नगर्न ढुंगानाले चेतावनीसमेत दिए ।

त्यस्तै नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्यहरुले धनकुटालाई राजधानी बनाउने प्रस्ताव दर्ता नगरे उनीहरुको भविश्य समाप्त हुँने चेतावनी दिदै धनकुटाको प्रस्ताव दर्ता गर्न सांसदहरुलाई आग्रह गरे ।

जिल्ला समन्वय समितिका संयोजक टंक वहादुर चुवानले धनकुटालाई राजधानी बनाउन अव अन्तिम र निर्णायक अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताए । त्यस्तै सभामा उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष उमेश घिमिरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरवाबु श्रेष्ठ लगायतले अवको आन्दोलन निर्णायक हुँनेमा जोड दिए । उनीहरुले अव धनकुटा र बिराटनगरमा शसक्त आन्दोलन चर्काउँने उद्घोष गरे ।

जिल्लालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै धनकुटामा पटक–पटक आन्दोलन हुँदै आएको छ । यसअघि एक महिना भन्दा बढी आमहड्तालसमेत गरेका धनकुटेलीले धनकुटाबाहेक अन्यत्र राजधानी नस्वीकारने अडानसहित सशक्त आन्दोलन गर्दै आएका छन् ।

प्रादेशिक राजधानीका लागि पर्याप्त भौतिक पूर्वाधार, भौगोलिक हिसावले प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा व्यवस्था लगायत कारणले धनकुटालाई राजधानी बनाईनुपर्ने जिल्लाबासीको माग छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!